लायन्स क्लब अफ धनगढी सिटीद्वारा १० जेहेन्दार तथा टुहुरा विद्यार्थीलाई ८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति
धनगढी: लायन्स क्लब अफ धनगढी सिटी अन्तर्गत सञ्चालित मोना मेमोरियल वेलफेयर फन्डले आफ्नो छैटौं वार्षिक छात्रवृत्ति वितरण कार्यक्रममार्फत १० जना जेहेन्दार, आर्थिक रूपमा विपन्न तथा टुहुरा विद्यार्थीलाई करिब ८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा शैक्षिक सहयोग प्रदान गरेको छ।
अत्तरियास्थित समाबेशी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ उक्त सहयोग गरिएको हो । कार्यक्रममा प्रतिक्षा बिक, भानु सुनार, अलिना जैसी, प्रमिला सुनार, आरुस सिंह, आयुष नाथ, नवीन नाथ, सिरिश बुढा, सुरेन्द्र रोकाया र आनन्द साउदलाई छात्रवृत्तिका रुपमा कपडा वितरण गरिएको हो।
कार्यक्रममा ट्रस्टका अध्यक्ष लायन नेत्रप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ N, नेपालका डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन टिकाराम चपाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिएका थिए। सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस्ता सहयोगले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा थप उत्साह र हौसला मिल्ने विश्वास उनीहरूले व्यक्त गरे।
मुना मेमोरियल वेलफेयर फन्डमार्फत लायन्स क्लब अफ धनगढी सिटीले विगत केही वर्षदेखि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएको जनाएको छ। ट्रस्ट व्यवस्थापन बोर्डमा ट्रस्टी केदार दत्त भट्ट तथा सदस्यहरू चेतराज पनेरु, टी.एन. ढकाल र नेत्रप्रसाद उपाध्याय रहेका छन्।
छात्रवृत्ति तथा शैक्षिक सामग्रीसहित करिब ८० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएपछि विद्यालय परिवारले लायन्स क्लबप्रति कृतज्ञता व्यक्त गरेको छ। विद्यालयले यस्ता सहयोगले गरिब, असहाय तथा टुहुरा विद्यार्थीको शिक्षामा निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
आयोजकले आगामी वर्षहरूमा पनि छात्रवृत्ति, शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।