कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर: कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१०, पन्तचोकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका–७, हल्दुखाल निवासी ३६ वर्षीय डम्बर सिंह कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट २ ग्राम १७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।