सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीसँग सुदूरपश्चिम पराजित

२०८३ मंसिर १०, ०८:४९ खबर संवाददाता

धनगढी: नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेश पराजित भएको छ। बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ४१ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

लुम्बिनीले दिएको १७८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४१ ओभरमा १३६ रनमै समेटियो। सुदूरपश्चिमका आर्यन बिकले ३६ रन बनाउँदा निराजन गौतमले २३ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा घरेलु टोलीले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो।

लुम्बिनीका रौनक श्रीवास्तवले ३ विकेट लिए। दिनेश बोहराले २ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४.३ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो। लुम्बिनीका आरिफ खानले ६१ रनको अर्धशतकीय इनिङ्स खेले भने रौनक श्रीवास्तवले ३३ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका निराजन गौतम र सुशील रावलले समान ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो।

कमेन्ट लोड गर्नुस