सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ वर्ष ७ महिनामा ३ हजार बढी सर्प उद्धार

२०८२ चैत्र ८, ०३:०५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा तीन हजार ९० वटा सर्प उद्धार गरेको जनाएको छ। उपमहानगरले २०८० असार ३१ गतेदेखि नागरिकको घरभित्र पस्ने सर्पको उद्धार अभियान थालेको हो।

उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८३४, आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३७९ र चालु आर्थिक वर्षको फागुनसम्म एक हजार ७७ सर्प उद्धार गरिएको छ।

नगर प्रहरी टोलीले घर, गोठ, आँगन तथा बाथरुमसम्म पसेका सर्प सुरक्षित रूपमा समातेर उचित स्थानमा छोड्ने गरेको छ। उद्धार गरिएका सर्पमा कमन करेत, करेत, अजिङ्गर, कमन कोब्रा, ब्ल्याक कोब्रा, किङ कोब्रा र ब्यान्डेड करेतजस्ता विषालु प्रजाति रहेका छन्।

सर्प घरभित्र पसेमा तत्काल उद्धारका लागि नगर प्रहरीले ०९१–५९०६९० र टोल फ्री नम्बर १८१०५००००९० सार्वजनिक गरेको छ। यी नम्बरमा जानकारी दिएपछि सर्प उद्धार टोली तुरुन्तै घटनास्थल पुग्ने व्यवस्था मिलाइएको छ।

उपमहानगरले सुरुमा २५ जना नगर प्रहरीलाई सर्प उद्धार सम्बन्धी तालिम दिएको थियो। उक्त तालिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले प्रदान गरेको हो। त्यसपछि प्रशिक्षित टोलीले अन्य नगर प्रहरीलाई समेत तालिम दिएको जनाइएको छ।

सर्पको टोकाइबाट हुने जोखिम कम गर्दै नागरिकको ज्यान जोगाउने उद्देश्यले सुरु गरिएको यो अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। नागरिकको सुरक्षासँगै सर्प संरक्षणमा समेत योगदान पुगेको भन्दै यसको प्रशंसा भइरहेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस