सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा साउनयता १७ गैंडा मृत, कुल ५७ वन्यजन्तुको मृत्यु

२०८२ चैत्र ९, ०१:५२ रासस

चितवन: चितवनमा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १७ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा गैंडा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी गैंडाको मृत्यु प्राकृतिक कारणले भएको जनाइएको छ।

यस अवधिमा गैंडासहित कुल ५७ वटा वन्यजन्तुको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यस वर्ष ४ वटा बाघ, ३ वटा हात्ती र १८ वटा चित्तल मरेका छन्। त्यस्तै चितुवा, जरायो, मगर गोही र घडियाल गोही २/२ वटा, अजिङ्गर र सुन गोहोरो १/१ वटा तथा अन्य ४ वटा वन्यजन्तुको मृत्यु भएको छ।

वन्यजन्तुहरू दलदलमा फस्ने, आपसमा जुध्ने, दुर्घटनामा पर्ने तथा बाघको आक्रमणजस्ता कारणले मरेका हुन्। उनले समुदायस्तरमा संरक्षणप्रति चेतना बढ्दै गएकाले चोरी शिकारीका घटनामा कमी आएको र वन्यजन्तु संरक्षणमा सहयोग पुगेको बताए।

गत आर्थिक वर्षमा भने ८१ वटा वन्यजन्तुको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस