सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कप:हेमन्त धामीको ६ विकेटले सुदूरपश्चिमको विजयी सुरुवात

२०८२ चैत्र ९, ०४:११ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो।

कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३ रन जोडे। मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे।

कर्णालीका बलरमध्ये अनुज चनारा र दिवान पुनले २–२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमै अलआउट हुँदै ११९ रनमा समेटिएको थियो। बिपिन रावलले ३३ रन बनाए भने सुनिल धमलाले २८ रनको योगदान दिए।

सुदूरपश्चिमका हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए। उनलाई शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १–१ विकेट लिएर साथ दिएका थिए।
 

कमेन्ट लोड गर्नुस