लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा सुदूरपश्चिम
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। लगातार दुई सिजन उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक क्वालिफायर–वानमा साविक विजेता लुम्बिनी लायन्सको सामना गर्ने भएको छ।
लिग चरणका खेल सकिएसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले मंगलबार हुने क्वालिफायर–वानमा शीर्ष स्थानको लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जित्ने टोली सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले पनि फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।
सुदूरपश्चिम एनपीएलको तीनवटै सिजन प्लेअफमा पुग्ने एक्लो टोली हो। यसअघिका दुवै सिजन लिग चरणको शीर्ष स्थानमा रहँदै क्वालिफायर–वान खेलेको सुदूरपश्चिमले दुवैपटक फाइनलमा स्थान बनाएको थियो। तर, दुवै फाइनलमा पराजित भएपछि उपाधि जित्ने उसको लक्ष्य अधुरै रह्यो।
पहिलो सिजन क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै फाइनल पुगेको सुदूरपश्चिम दोस्रो सिजन पनि उत्कृष्ट लयमा देखिएको थियो। दोस्रो सिजन क्वालिफायर–वानमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यद्यपि, दुवैपटक उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने प्रयासमा हुनेछ।
यसपटक भने सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान हासिल गर्न सकेन। दोस्रो स्थानमा रहेको टोलीले क्वालिफायर–वानमा स्थान बनाउन काठमान्डु गोर्खाजको अन्तिम खेलको नतिजामा समेत भर पर्नुपरेको थियो। काठमान्डु अन्तिम खेलमा पराजित भएपछि सुदूरपश्चिमले इलिमिनेटर खेल्नुपर्ने अवस्था टरेको थियो।
साविक विजेता लुम्बिनी लायन्स भने लिग चरणमा पाँच खेल जित्दै ११ अंकसहित शीर्ष स्थानमा रह्यो। लुम्बिनीले यसपटक पहिलोपटक क्वालिफायर–वान खेल्न लागेको हो।