सुदूर नेपाललाई विश्वसँग जोड्दै

राना थारू समुदायले मनाए चैतकी चराई पर्व

२०८२ चैत्र १०, ०७:१४ रासस

कञ्चनपुरः कञ्चनपुर र कैलालीका राना थारू समुदायले सोमवार चैतकी चराई पर्व मनाएका छन्।

राना थारू समुदायको परम्परागत संस्कारसँग जोडिएको यो पर्व प्रत्येक वर्ष चैत महिनाको शुक्लपक्षको पहिलो सोमबार मनाउने गरिन्छ। होलीपछिको खडेहरा पर्व सकिएपछि मात्र मनाइने यस पर्वमा भर्राले नवदुर्गा भगवतीको भूइयाँरीमा पूजा गर्ने परम्परा रहेको छ। पूजामार्फत गाउँमा रोगव्याधि नलागोस्, खेतीपाती राम्रो होस्, गाउँमा खुसीयाली छाओस् भन्ने कामना गरिन्छ।

पर्वको तयारी दुई दिनअघिदेखि नै सुरु हुने गर्दछ। गाउँका महिलाहरू सामूहिक रूपमा नदी, तलाउ तथा जलाशयमा पुगेर माछा सङ्कलन गर्ने परम्परा रहेको राना थारू अगुवा जगता रानाले बताए। उनका अनुसार पहिले सामूहिक रूपमा माछा मार्ने चलन निकै प्रचलित भए पनि हाल यो परम्परा विस्तारै हराउँदै गएको छ।

चराईमा जानुअघि महिलाहरूले घरमा विशेष परिकार तयार गर्ने गर्दछन्। मिसौला, आलुको चखना, माछाको चखना, दहीलगायतका परिकार तयार गरी चराईस्थलमा लैजाने चलन रहेको रानाले बताए। प्रत्येक घरबाट एकएक जना महिला चराईस्थलमा सहभागी हुने परम्परा छ। महिलासँगै गाउँको पूजा गर्ने भर्रा तथा गाउँका भलमन्सा र भद्रभलादमी पनि जाने गर्दछन्।

चराईस्थलमा पुगेपछि घरघरबाट ल्याइएको भेर चिर र सतनजा सङ्कलन गरिन्छ। त्यसपछि कण्डामा आगो बालेर भर्राले भूइयाँरीमा परम्परागत तान्त्रिक विधिबाट नवदुर्गा भवानीको पूजा तथा आह्वान गर्ने गर्दछन्।कसरौल गाउँका भलमन्सा रामकिसन रानाले पूजाको मुख्य उद्देश्य गाउँमा खुसीयाली छाओस्, रोगव्याधि कसैलाई नलागोस् र सबै बालबच्चा निरोगी रहून् भन्ने कामना गर्नु रहेको बताए। पूजा सम्पन्न भएपछि सहभागी महिला–पुरुषले होली खेलेर रमाइलो गर्ने चलन पनि छ।

यस अवसरमा विवाह भई गएका छोरीहरूका तर्फबाट मिठाई बाँड्ने चलन छ। त्यसपछि घर फर्कने क्रममा बाटोमा भर्राले मन्त्र जप गरिएको जल महिलामाथि छर्कने गर्दछन्। यसो गर्दा भूतप्रेत वा दुष्टआत्माबाट जोगिने विश्वास रहेको राना थारू समुदायका बुढापाकाहरू बताउछन्। केही स्थानमा यस अवसरमा महिलाहरूले भगिरथ लीला गीत गाउने परम्परा पनि छ। यो पर्व सामूहिक सहभागिता, धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको राना थारु अगुवाहरूको भनाइ छ।

कमेन्ट लोड गर्नुस