सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रामीण क्षेत्रमा धनगढीले चलाउँदैछ ईभी गाडी, तीन रुट प्रस्ताव 

२०८३ मंसिर १०, ०२:३२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन गर्न छ वटा विद्युतीय (ईभी) गाडी खरिद गरेको छ। उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनको बजारीकरण सहज बनाउने तथा विद्यार्थी र रोजगारीका लागि आवतजावत गर्ने नागरिकको यात्रा सहज बनाउने उद्देश्यले गाडी खरिद गरिएको हो।

उपमहानगरपालिकाले यी गाडीमार्फत तीनवटा रुटमा यातायात सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। पहिलो रुट वनवेहडा–वडा नम्बर १७–देवरिया हुँदै धनगढी रहनेछ। दोस्रो रुट चौमाला–वडा नम्बर १६–वडा नम्बर १५–कनरी हुँदै धनगढी र तेस्रो रुट धनगढीको जुगेडाबाट वडा नम्बर १२ हुँदै वडा नम्बर १०, ९ र ८ भएर धनगढीसम्म रहनेछ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहरी क्षेत्रसम्म सहज पहुँच पुर्‍याउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गर्ने तथा विद्यार्थीको शैक्षिक पहुँच र रोजगारीका अवसरसँगको सम्बन्ध विस्तार गर्ने अपेक्षा रहेको मेयर गोपाल हमालले जानकारी दिए। 

गाडी सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस