सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, कैलाली–कञ्चनपुर उच्च जोखिममा
धनगढीः सुदूरपश्चिम प्रदेशमा क्षयरोग (टिबी) नियन्त्रणका प्रयास जारी रहे पनि कैलाली र कञ्चनपुर जिल्लामा जोखिम अझै उच्च रहेको देखिएको छ। स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार प्रदेशका नौ जिल्लामध्ये यी दुई जिल्लामा हरेक वर्ष सबैभन्दा धेरै क्षयरोगी फेला पर्ने गरेका छन्।
तथ्यांक अनुसार प्रदेशभर क्षयरोगीको संख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७७/७८ मा २,८२६ रहेको बिरामी संख्या २०७८/७९ मा ३,४२४ पुगेको थियो। त्यसपछि २०७९/८० मा ३,२१४, २०८०/८१ मा ३,६१८ र २०८१/८२ मा ३,६४८ जना बिरामी भेटिएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म १,८४० जना बिरामी पहिचान भइसकेका छन्, जसमा कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ जना रहेका छन्।
अन्य जिल्लाहरूमा भने तुलनात्मक रूपमा कम बिरामी भेटिएका छन्। डोटी, अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा र दार्चुलामा संक्रमित संख्या न्यून रहेको तथ्यांकले देखाएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोगबाट हुने मृत्यु दर पनि चिन्ताजनक नै छ। प्रत्येक वर्ष प्रति लाख जनसंख्यामा करिब ५५ जनाको मृत्यु हुने गरेको छ। चालु आर्थिक वर्षमा मात्रै ६५ जनाको ज्यान गइसकेको छ।
प्रदेशमा हरेक वर्ष दुई हजारभन्दा बढी नयाँ क्षयरोगी थपिने गरेका छन्। गत आर्थिक वर्षमा ३,६४८ नयाँ बिरामीमध्ये सबैभन्दा बढी कैलालीमा १,५१३ र सबैभन्दा कम बाजुरामा १४१ जना थिए। कोभिड–१९ पछि लक्षित अनुसार बिरामी पहिचान हुन नसक्दा समस्या झन् जटिल बनेको जनाइएको छ।
प्रदेशका ८८ स्थानीय तहमध्ये पाँच पालिकामा क्षयरोगको दर उच्च रहेको छ। बाजुराको बडिमालिका नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका तथा कञ्चनपुरका दोधार–चाँदनी, बेलडाँडी र लालझाडीमा जोखिम बढी देखिएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ४२९ बिरामी छन् भने मोहन्यालमा सबैभन्दा कम २२ जना छन्।
बाजुरा जिल्ला अझै क्षयरोग मुक्त अभियानमा समावेश हुन सकेको छैन। देशभर ११ जिल्लामा यो अभियान लागू नभएकोमा सुदूरपश्चिममा बाजुरा मात्र बाँकी रहेको छ। हाल प्रदेशका १९ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ।
कैलालीमा मात्रै हरेक वर्ष १,२०० देखि १,३०० नयाँ बिरामी थपिने र ५० देखि ६० जनासम्मको मृत्यु हुने गरेको छ। जनसंख्या वृद्धि, बसाइँसराइ, खुला सीमा, गरिबी तथा जनचेतनाको कमीले नियन्त्रणमा चुनौती थपिएको छ। साथै उपचार अधुरै छोडेर रोजगारीका लागि भारत जाने प्रवृत्तिले पनि समस्या बढाएको छ।
यसैबीच, कुष्ठरोग पनि प्रदेशमा अर्को चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार समयमै उपचार गरे कुस्टरोग पूर्ण रूपमा निको हुन सक्छ र हालसम्म करिब ९० प्रतिशत बिरामी निको भइसकेका छन्। तर, जनचेतनाको अभावका कारण धेरै बिरामी समयमै स्वास्थ्य संस्थामा नपुग्ने समस्या रहेको छ।
आज मार्च २४ का दिन विश्व क्षयरोग दिवस विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ। ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ मनाइने यस दिवसले रोग नियन्त्रणका लागि लगानी र सेवा विस्तारको आवश्यकता औंल्याएको छ। नेपालमा अधिकांश क्षयरोग फोक्सोसम्बन्धी हुने गरेको छ र यसको उपचार निःशुल्क उपलब्ध छ। सरकारले सन् २०३५ सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ।
स्वास्थ्यकर्मीहरूले तीन हप्ताभन्दा बढी खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, तौल घट्ने वा अत्यधिक पसिना आउने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरेका छन्।