सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीका लागि स्पष्ट अधिकारसहितको कानून बन्छ भन्ने आशा छः आईजीपी अर्याल 

२०८२ चैत्र १०, ०१:४६ खबर संवाददाता

काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट भूमिका र अधिकार निर्धारण गर्ने कानून नयाँ संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन्।

मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नंवर ९ पशुपतिनाथ वाहिनी मुख्यालयको २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी अर्यालले यसअघि संगठनको स्पष्ट भूमिकासहितको कानूनको मस्यौदा सरकारसमक्ष पेश गरिए पनि पारित हुन नसकेको उल्लेख गरे। उनले अब गठन हुने नयाँ संसदले उक्त कानूनलाई अघि बढाउने अपेक्षा व्यक्त गरे।

अर्यालले भदौ २३ र २४ का घटनादेखि निर्वाचन सम्पन्न गराउने अवस्थासम्म सशस्त्र प्रहरीले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै त्यसले देशलाई स्थायित्वतर्फ अघि बढाउन सहयोग गरेको बताए।

उनले सबै सुरक्षा निकायको समन्वयका कारण एक थोपो रगत नबगाई निर्वाचन सम्पन्न गर्न सफल भएको दाबी गर्दै आगामी दिनमा पनि देशको सुरक्षाका लागि सुरक्षा फौज पूर्ण रूपमा तयार, तत्पर र सक्षम रहेको धारणा राखे।

संगठनभित्र नेतृत्व चयनमा सिनियरिटीसँगै कार्यदक्षता र कार्यकुशलतालाई प्राथमिकता दिने नीति लिइएको पनि उनले स्पष्ट पारे।

कार्यक्रमका अवसरमा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस