सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनको स्वागतमा हरियो रौनक: आस्था, परम्परा र सौन्दर्यमा सजिँदै महिला

२०८३ असार ३०, ०१:३३ लक्ष्मण ढुङ्गाल

धनगढी: असारको अन्तिम साता सकिनै लाग्दा साउन महिनाको स्वागतमा बजारदेखि घर–घरमा हरियालीको रौनक छाउन थालेको छ। विवाहित तथा अविवाहित महिलाहरू हरियो चुरा, हरियो–पहेँलो पोते, मेहेन्दी र हरिया पहिरनमा सजिन थालेका छन्। हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले महिलाहरूले व्रत बस्ने, शिव मन्दिरमा पूजा गर्ने तथा हरियो रङका वस्त्र र श्रृङ्गारका सामग्री प्रयोग गर्ने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार हरियो रङ हरियाली, समृद्धि, आशा, प्रेम र नयाँ जीवनको प्रतीक हो। विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि र पारिवारिक मंगलको कामना गर्दै साउनभर हरियो चुरा, पोते र पहिरन धारण गर्ने गर्छन् भने अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामनासहित भगवान शिवको पूजा–आराधना गर्ने चलन छ।

साउन महिनामा विशेषगरी सोमबारको व्रतलाई अत्यन्त महत्वका साथ लिने गरिन्छ। यस अवधिमा शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ। पूजा–आराधनासँगै महिलाहरूले मेहेन्दी लगाउने, साथीभाइसँग भेटघाट गर्ने, झूला खेल्ने र हरितालिका तीजको तयारीसमेत यही महिनाबाट सुरु गर्ने गर्छन्।

सांस्कृतिक मान्यताअनुसार हरियो रङ प्रकृतिसँग जोडिएको, जीवनमा उत्साह, उमंग र सकारात्मक ऊर्जा जगाउने प्रतीकका रूपमा लिइन्छ। यही विश्वासका कारण साउन महिनाभर हरियो पहिरन र हरियो चुरा लगाउने परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको छ।

साउनको प्रभाव धार्मिक समुदायमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाले पनि साउन महिनालाई विशेष रूपमा मनाउन थालेका छन्। उनीहरूले पनि महिनाभर हरियो चुरा, हरियो पोते र हरिया पहिरन लगाएर साउनको स्वागत गर्ने गरेका छन्। यसले विभिन्न समुदायबीच सांस्कृतिक सद्भाव र परम्पराको आदान–प्रदानसमेत बढ्दै गएको देखिन्छ।

यता, साउन नजिकिँदै जाँदा बजारमा हरियो चुरा, पोते, मेहेन्दी, सारी, कुर्ता तथा अन्य श्रृङ्गार सामग्रीको व्यापारसमेत बढ्न थालेको छ। नयाँ डिजाइनका सामग्री खरिद गर्न महिलाको चहलपहल बढेसँगै पसलहरूमा साउनको विशेष रौनक देखिन थालेको व्यवसायीहरू बताउँछन्।

यसरी साउन महिना केवल धार्मिक आस्थाको पर्व मात्र नभई नेपाली समाजमा संस्कृति, परम्परा, प्रकृति, नारी सौन्दर्य र सामाजिक सद्भावलाई उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस