सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की अस्पताल स्तरोन्नतिमा प्रदेश–स्थानीय सरकारबीच टकराव, सेवा विस्तार अन्योलमा

२०८२ चैत्र ११, ११:०९ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको १५ शय्याको लम्की अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अहिले विवादमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभाव हुँदा अस्पतालको स्तरोन्नति कार्य अन्योलमा परेको हो।

विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पताल आफ्नो मातहतमा लिन खोजेपछि विवाद सुरु भएको देखिन्छ। स्थानीय सरकारलाई प्रक्रिया बाहिर राखिएको आरोप लगाउँदै नगरप्रमुख सुशीला शाहीले प्रदेशको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार कुनै औपचारिक पत्राचार नगरी ह्वाट्सएप सन्देशमार्फत सम्झौताका लागि बोलाउनु गैरजिम्मेवार कदम हो।

नगरपालिकाले आफ्नै निर्णय प्रक्रिया हुने उल्लेख गर्दै कार्यपालिका र जनप्रतिनिधिसँग छलफल नगरी कर्मचारीलाई हस्ताक्षरका लागि बोलाउनु अनुचित भएको उनको भनाइ छ। साथै, प्रदेश सरकारले हालसम्मको स्थानीय लगानी र कर्मचारी व्यवस्थापनबारे स्पष्ट योजना नल्याएकोमा पनि उनले चिन्ता व्यक्त गरिन्।

हाल अस्पतालमा ८१ जना कर्मचारी कार्यरत छन् भने नगरपालिकाले वार्षिक ७–८ करोड रुपैयाँ खर्च गर्दै आएको छ। कर्मचारी तलबमै करिब ३ करोड रुपैयाँ खर्च हुने गरेको छ। यस्तो अवस्थामा ‘बजेट व्यवस्थापन नभएसम्म खर्च नगरपालिकाले नै बेहोर्ने’ भन्ने प्रस्तावले थप विवाद निम्त्याएको छ।

यता प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने कानुनी प्रक्रिया अनुसार नै अस्पताललाई प्रदेश मातहत ल्याइएको दाबी गरेका छन्। उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नीति अनुसार विभिन्न जिल्लाका अस्पताललाई स्तरोन्नति गर्ने योजना अन्तर्गत लम्कीचुहा अस्पताललाई पनि ५० शय्याको प्रादेशिक अस्पतालमा रूपान्तरण गरिएको हो।

उनले कुनै पनि कर्मचारीको रोजगारी नखोसिने आश्वासन दिँदै दीर्घकालीन व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। साथै, नगरपालिकाकै सिफारिसका आधारमा प्रक्रिया अघि बढाइएको पनि उनको भनाइ छ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको निर्णयपछि अस्पताल सञ्चालनको जिम्मा प्रदेशलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो। तर, दुई तहका सरकारबीचको असमझदारी र प्रतिष्ठाको टकरावका कारण अस्पतालको सेवा विस्तार प्रभावित हुने चिन्ता बढेको छ।

कमेन्ट लोड गर्नुस