सुदूर नेपाललाई विश्वसँग जोड्दै

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न ओलीको निर्देशन

२०८२ चैत्र १२, ०४:५२ रासस

काठमाडौँ:नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामप्रति निराश नहुन आफ्ना सांसदहरूलाई आग्रह गर्दै देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएलगत्तै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदहरूलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले विगतमा पनि देश र जनताको पक्षमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा समृद्धि र विकासका लागि अझ सशक्त रूपमा अघि बढ्नुपर्ने बताए।

उनले आफ्नो पार्टी सत्य, समृद्धि र विकासको मार्गमा रहेको उल्लेख गर्दै भ्रमपूर्ण र आधारहीन प्रचारविरुद्ध एकजुट भएर सामना गर्नुपर्ने धारणा राखे। “हामीविरुद्ध असत्य र भ्रम फैलाउने प्रयास हुन सक्छ, त्यसको डटेर सामना गर्नुपर्छ। अहिले निराश हुने अवस्था छैन, हामी सही मार्गमा छौँ,” उनले भने।

ओलीले पार्टीभित्र एकता, अनुशासन र नीतिप्रति प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै सबै नेता तथा सांसदलाई एक ढिक्का भएर अघि बढ्न निर्देशन दिए।

उनले विश्व राजनीतिमा बढ्दो अराजकताको चर्चा गर्दै संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू पनि प्रभावहीन बन्दै गएको टिप्पणी गरे।

कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल लगायत नेताहरूको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस