सुदूरपश्चिमको साहित्य र संस्कृति जगेर्ना गर्न धनगढीमा साहित्य महोत्सव हुँदै
धनगढीः सुदूरपश्चिम प्रदेशको साहित्य, कला, भाषा, संस्कृति तथा सामाजिक विविधताको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने उद्देश्यले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आगामी मंसिर २६ र २७ गते धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस परिसरमा महोत्सव आयोजना हुन लागेको हो। महोत्सवबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ।
महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, कला, भाषा, लोकसाहित्य, इतिहास, भूगोल, शिक्षा, पर्यापर्यटन तथा सामाजिक र सांस्कृतिक पहिचानसँग जोडिएका विविध विषयमा विमर्श गरिनेछ। साथै, सुदूरपश्चिमको मौलिक ज्ञान, परम्परा र सामाजिक अनुभवलाई उजागर गर्ने उद्देश्यले डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा साहित्यिक अन्तरसंवाद, लेखन कार्यशाला, पुस्तक विमोचन, साहित्यिक इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुति तथा विभिन्न विषयमा छलफल गरिनेछ। सुदूरपश्चिमका सबै जिल्लाका कवि तथा गजलकारलाई सहभागी गराई कविता र गजलको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिने प्रतिष्ठानकि सुदूरपश्चिम संयोजक श्रेष्ठ प्रिया पत्थरले जानकारी दिइन्।
उनका अनुसार महोत्सवमा विभिन्न जिल्लाबाट कम्तीमा दुई जना कवि र दुई जना गजलकारलाई प्राथमिकता दिइनेछ। विशेषगरी स्थानीय भाषामा साहित्य सिर्जना गर्ने स्रष्टालाई समेत उचित स्थान दिइनेछ।
त्यस्तै, महोत्सवमा सुदूरपश्चिमका मौलिक सांस्कृतिक प्रस्तुति पनि मुख्य आकर्षणका रूपमा रहनेछन्। हुड्केली, छलिया, होरी, डेउडा र सखियालगायतका परम्परागत नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। स्थानीय खानपिन तथा परिकारका विभिन्न स्टलसमेत राखिने आयोजकले जनाएको छ। यसले महोत्सवलाई साहित्यिक विमर्शसँगै सुदूरपश्चिमको कला, संस्कृति र खानपान चिनाउने साझा उत्सवका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमा ‘नेपाली साहित्य हिँडेको बाटो’ शीर्षकमा आख्यानकार नारायण ढकालको विशेष प्रवचनसमेत रहनेछ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले महोत्सवले सुदूरपश्चिमको साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउने बताए। स्थानीय भाषा र मौलिक साहित्यलाई राष्ट्रियस्तरमा चिनाउने तथा नयाँ पुस्तालाई साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्य महोत्सवले राखेको उनको भनाइ छ।
महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।