सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिबाट टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक महोत्सव सुरु हुने

२०८२ चैत्र १२, ०५:४५ खबर संवाददाता

टीकापुरः टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक महोत्सवका रूपमा मनाइने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा साहित्य महोत्सव हुँदैछ ।

२०७९ सालमा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’ भन्ने उद्घोषका साथ पहिलो साहित्य महोत्सव गरेको थियो । २०८१ सालमा सम्पन्न भएको दोस्रो संस्करणलाई पहलमानसिंह स्वाँर विशेष संस्करण नाम दिइएको थियो । 

‘तेस्रो संस्करणसम्म आइपुग्दाको अनुभव गर्दै अझ परिस्कृत गरेर थारू साहित्य तथा सांस्कृतिक उत्सवका रूपमा लिएका छौं’ टीकापुर साहित्य समाजका अध्यक्ष तथा महोत्सवका संयोजक महेशविक्रम शाहले भने ‘यस महोत्सवमा थारू बाहुल्य जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङका साहित्यकारहरूको जमघट हुने छ ।

थारू लोकसाहित्य थारू संस्कृति जनजीवनलाई प्रवर्धन गर्नु र नयाँ पुस्तालाई आफ्नो भाषा लोकसाहित्यका बारेमा जानकारी  दिई पहिचान स्थापित गर्न आवश्यक देखेर यस पटक थारू साहित्य र संस्कृतिको चर्चा गर्ने छौं ।’

चैत १३ र १४ मा हुने बहससत्रमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त साहित्यकार, लेखक, कलाकार, रङ्गकर्मी सञ्चारकर्मी र अभियन्ताहरूलाई स्थान दिइएको उनको भनाइ छ । यी सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, प्राध्यापक डा. माधवप्रसाद पोखरेल, साहित्यकार सरुभक्त, रङ्गकर्मी निर शाहका विचार सुन्न पाइने उनले बताए। 

दोस्रो दिन हुने कार्यक्रममा लेखनमा महिला रङ, केन्द्रिकृत लेखन र सुदूरको यथार्थ शीर्षकको संवादमा लेखक तथा साहित्यकारहरुमा रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, लक्की चौधरीले संवाद गर्नेछन् । सो सत्रको सहजीकरण साहित्यकार जनक रसिकले गर्नुहुनेछ । सुदूरपश्चिम पर्यटनको नयाँ गन्तव्यजस्ता विषयमा चर्चा हुने उनको भनाइ छ । दोस्रो दिन डाक्टर वसन्त पन्तले मृत्यू चिन्तन विषयमा बहस गर्ने छन्।   

महोत्सवको तेस्रो दिन सात वटा सत्रहरू थारू साहित्य र संस्कृति विशेष हुने छन् । यस दिन थारू समाजका बरघर परम्परा, थारू समुदायको चाडपर्व, मूलधारको साहित्य र थारू बिम्ब, थारू लोकसाहित्य मौखिक परम्परादेखि आधुनिक लेखनसम्म, आधुनिकताको लहरमा थारू पहिचान, थारू किसानका आँखामा बदलिदो गाउँ, उद्यमशील थारू महिलाजस्ता विषयमा चर्चा हुने छ । 

टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाह महोत्सवले स्थानीयताको प्रवर्धन गर्ने, स्थानलाई राष्ट्रिय रूपमा चिनाउने र राष्ट्रिय व्यक्तित्वहरूलाई स्थानीय परिवेश देखाउने काम गरेको बताए।  

कमेन्ट लोड गर्नुस