ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै
काठमाडौँः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन्।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो।