धनगढीमा हनुमान जन्मोत्सव अवसरमा शोभायात्रा हुने
धनगढीः हनुमान जयन्तीको अवसरमा धनगढीमा विभिन्न धार्मिक कार्यक्रमसहित भव्य रूपमा हनुमान जन्मोत्सव मनाइने भएको छ।
प्रभु श्रीरामका प्रिय भक्त तथा संकटमोचकका रूपमा पूजिने हनुमान को जन्मोत्सवलाई सकारात्मक भावना र श्रद्धाका साथ मनाउन आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजनलाई आह्वान गरिएको छ।
आयोजकका अनुसार चैत्र १९ गते बिहीबार बिहान ७:१५ बजे धनगढी चौराहाबाट श्री लक्ष्मीनारायण मन्दिर सम्म भव्य शोभायात्रा निकालिनेछ।
कार्यक्रम अन्तर्गत सामूहिक रूपमा ११ पटक हनुमान चालीसा पाठ गरिनुका साथै प्रसाद वितरणसमेत गरिनेछ।
यसैगरी, विशेष कार्यक्रम अन्तर्गत चैत्र २१ गते शनिबार बिहान ९:०० बजे सामूहिक सुन्दरकाण्ड पाठ आयोजना गरिने जनाइएको छ।
आयोजकले यस पावन अवसरमा सपरिवार उपस्थित भई धार्मिक कार्यक्रम सफल बनाउन सम्पूर्ण भक्तजनलाई हार्दिक अनुरोध गरेका छन्।