राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु
काठमाडौँ: सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ। अधिवेशनको उदघाटनका अवसरमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले परिपक्व, संयमित र समन्वयकारी सदनका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि कायम राख्ने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले राष्ट्रियसभा स्थायी सदन भएकाले प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था अनुसार हालै १९ जना सदस्यलाई बिदाइ र १८ जना नयाँ सदस्यलाई स्वागत गरिएको जनाउँदै नवनिर्वाचित सदस्यको सहभागिताले संसद्को काम अझ समृद्ध र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राखे। लोकतान्त्रिक व्यवस्थामा जनादेश सर्वोपरि हुने उल्लेख गर्दै उहाँले सरकारलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहतर्फ मार्गदर्शन गर्नु संसद् र सांसदको कर्तव्य भएको स्पष्ट पारे।
अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको सहकार्यलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै दुई सदनबीच समन्वय र सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रियसभालाई सङ्घीय संरचनाको सन्तुलन र दीर्घकालीन दृष्टिकोणको प्रतिनिधिसंस्थाका रूपमा व्याख्या गरिएको उल्लेख गरे।
बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन हालसम्म सम्पन्न नभएकाले हालको अधिवेशन पनि पुरानै भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष दाहालले जानकारी दिए। उनले निर्माणाधीन उक्त नयाँ भवन यथाशीघ्र सम्पन्न भई आधुनिक प्रविधिसहित संसद् सञ्चालन हुने अपेक्षा व्यक्त गरे।
नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यसले संसदीय अभ्यासलाई अझ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे। आगामी दिनमा विधेयक, नीतिगत विषय तथा राष्ट्रिय सरोकारका मुद्दामा सदस्यहरूको सक्रिय, रचनात्मक र उत्तरदायी सहभागिता रहने उहाँले विश्वास व्यक्त गरे।
लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ बहस, विचारको विविधता र सहमतिमा आधारित संस्कृतिमा निहित हुने रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद्भित्र गरिमामय र तथ्यपरक बहस आवश्यक रहेकामा जोड दिए। उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर काम गर्न सबै सदस्यलाई आह्वान गरे।
आजको बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोराको जानकारी गराएका थिए। आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष र राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ।