ठमेलबाट युवा संघ नेता वकिल बम पक्राउ, गुण्डागर्दीमा संलग्नता आरोप
काठमाडौँः गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोपमा युवा संघका नेता वकिल बम पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा उनलाई शुक्रबार राति पक्राउ गरेको हो।
नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य रहेका बम संगठनको कार्यालय टिममा सक्रिय रूपमा काम गर्दै आएका थिए। हाल उनी अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएका छन्।
उक्त अभियानमा बमसहित १३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका बम पछिल्लो समय काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय थिए।