पर्यटन मन्त्रीको गृह जिल्ला अछाममा मन्दिर र पदमार्गका २५९ योजनामा २३ करोड ७८ लाख खन्याइयो
धनगढीः प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा पर्यटन पूर्वाधार विकासका नाममा २५९ योजना एक्लै पर्यटन मन्त्रीको गृह जिल्ला अछाममा पार्दै २३ करोड ७८ लाख ८ हजार रुपैयाँ बजेट खन्याएको पाइएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावलको गृह जिल्ला अछाममा मात्र पर्यटन मन्त्रालयअन्तर्गत १६२ योजनाका लागि १३ करोड ९१ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, ससर्त अनुदानमार्फत अछामका स्थानीय तहमा मन्दिर र पदमार्ग निर्माणका थप ९७ योजनामा ९ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
ससर्त अनुदानका ९७ योजनामध्ये सबैभन्दा धेरै ४० वटा योजना मुख्यमन्त्री कमलबहादुर शाहको पुर्ख्यौली पालिका रामारोशन गाउँपालिकामा परेको देखिन्छ। रामारोशन गाउँपालिकामा मात्रै मन्दिर र पदमार्गका ४० योजनाका लागि ३ करोड १० लाख रुपैयाँ ससर्त अनुदान शिर्षकमा विनियोजन गरिएको छ।
मन्त्रालय र ससर्त अनुदानसमेत जोड्दा अछाम जिल्लामा मात्रै प्रदेश सरकारले पर्यटन पूर्वाधारका खुद्रे योजनामा २३ करोड ७८ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरेको तथ्य वार्षिक विकास कार्यक्रम पुस्तिकामा उल्लेख छ। यीमध्ये अधिकांश योजना प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कैलालीमार्फत कार्यान्वयन गरिने जनाइएको छ भने केही योजना मन्त्रालयबाटै कार्यान्वयन हुने गरी छनोट गरिएको छ।
तर मन्त्रालय स्रोतका अनुसार सुरुमा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईलाई पाँच करोड रुपैयाँको सिलिङ दिइएकोमा पछि सात करोड पुर्याइए पनि योजना छनोट गर्दा करिब ८० करोड रुपैयाँ बराबरका मन्दिर र पदमार्गका खुद्रे योजना समेटिएको दाबी गरिएको छ। पर्यटन पूर्वाधार विकासको एक चौथाई बजेट अछाम जिल्लाका मन्दिर र मन्दिर जाने पदमार्गका लागि छुट्याइएको मन्त्रालय स्रोतको दाबी छ। यसले योजना छनोट र बजेट बाँडफाँटको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
मन्दिरका खुद्रे योजना
अछामका पर्यटन पूर्वाधार विकासका २५९ योजनामा करिब दुई सय योजना मन्दिरका छन् भने बाँकी पदमार्गको नाममा बजेट छुट्याइएको छ। सरकारले सबैभन्दा कम तीन लाख ८० हजारदेखि सबैभन्दा बढी दुई करोडसम्म एक योजनामा बजेट विनियोजन गरेको छ। अछाममा पाँच लाखका ७२ योजनामा बजेट हालिएको छ भने सात लाख ६० हजारका २८ योजना छन्। यस्तै सबैभन्दा बढी १० लाख बजेटका ९८ योजना छन्।
योजनाबारे मन्त्री अनविज्ञ!
बजेटको मुखमै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका रावल अछाम निर्वाचन क्षेत्र नम्बर २ (२)बाट निर्वाचित काँग्रेका प्रदेश सभा सदस्य हुन्। उनी जेठ २६ गते मन्त्री नियुक्त भएका हुन्।
पर्यटन मन्त्री मानबहादुर रावलले अछाम जिल्लामा परेका पर्यटनका योजनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले आर्थिक वर्ष २०८३/८४ को वार्षिक विकास कार्यक्रम पुस्तिका अहिलेसम्म हेर्न नपाएको बताएका छन्। बजेट पारित भएपछि मात्रै योजनाका विषयमा धारणा राख्नु उपयुक्त हुने उनले बताए।
प्रदेशको पर्यटन बजेट मन्त्री र मुख्यमन्त्रीको प्रभाव क्षेत्रमै अत्यधिक केन्द्रित भएको देखिएपछि बजेट वितरणको निष्पक्षता र प्राथमिकतामाथि सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। उनीहरूले बजेट संशोधन हुनुपर्ने माग राखेका छन् भने प्रमुख प्रतिपक्षी नेकपाले पनि बजेट निर्माणमा सरकारले बेइमानी गरेको बताएको छ।