बैतडीमा एसइई उत्तरपुस्तिका परीक्षण जारी, नतिजा तयारी तीव्र
वासुलिङ (बैतडी): परीक्षा नियन्त्रण कार्यालय को निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै तीव्र रूपमा भइरहेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, बैतडी का सूचना अधिकारी पुष्कर शर्मा का अनुसार जिल्लाका २६ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सञ्चालनमा छ। अधिकांश केन्द्रहरूले परीक्षा सम्पन्न भएकै दिन उत्तरपुस्तिका परीक्षण सक्ने व्यवस्था मिलाएका छन्।
उत्तरपुस्तिका परीक्षणका लागि सम्बन्धित केन्द्राध्यक्षले विषयगत शिक्षक खटाएका छन्। निष्पक्षता कायम गर्न फरक विद्यालयका शिक्षकले मात्र उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था गरिएको छ।
पाटन नगरपालिका–८ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालय का केन्द्राध्यक्ष पुष्पराज जोशी ले प्रत्येक दिनको विषयगत नतिजा सोही दिन साँझसम्म तयार गरी पठाइने जानकारी दिए। यस्तै, दशरथचन्द नगरपालिका–२ स्थित मणिलेक माध्यमिक विद्यालय का केन्द्राध्यक्ष धिरेन्द्र मड ले परीक्षा शान्त र मर्यादित रूपमा सञ्चालन भइरहेको बताए।
परीक्षण गरिएका उत्तरपुस्तिका सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाइने र त्यहाँबाट परीक्षा नियन्त्रण कार्यालयमा पठाइने व्यवस्था रहेको इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी ले जानकारी दिए। परीक्षार्थीको नतिजा प्रविष्ट गर्ने काम भने परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ।
बैतडीमा नियमित र ग्रेडवृद्धि दुवै तर्फका परीक्षार्थीका लागि २५ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ भने प्राविधिक धाराका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालय मा केन्द्र तोकिएको छ।
यस वर्ष जिल्लामा कुल ४,५५१ जना परीक्षार्थी एसइईमा सहभागी भएका छन्। नियमिततर्फ ३,९२१ जना (१,९६३ छात्र र १,९५८ छात्रा) तथा ग्रेडवृद्धितर्फ ६३० जना (२५६ छात्र र ३७४ छात्रा) परीक्षार्थी रहेका छन्। जिल्लाका १३८ सामुदायिक र आठ संस्थागत गरी कुल १४२ विद्यालयका विद्यार्थीले यस वर्ष एसइई परीक्षा दिइरहेका छन्।
गाेरखापत्रबाट