कञ्चनपुरमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
साँझ करिब १८:०५ बजे पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक अर्जुन साउँदसहित ८ जना सवारमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेका छन्।
घाइते ६ जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।