कैलालीका भूमिहीनले कहिले पाउँछन् लालपुर्जा ? डेढ लाख परिवार प्रतीक्षामा
धनगढीः कैलालीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया फेरि लम्बिएको छ। यसअघि कात्तिकदेखि नै लालपूर्जा वितरण सुरु गर्ने बताइएकोमा फेरि ढिलाइ भएको हो। जिल्ला भूमि समस्या समाधान समितिले आगामी पुस मसान्तभित्र जिल्लाका सबै स्थानीय तहमा जग्गाको नापजाँच तथा नक्साङ्कनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।
जिल्लाका सबै स्थानीय तहमा नापीको कामलाई तीव्रता दिन नापी कार्यालयका दुई जना कर्मचारी र सम्बन्धित पालिकाका थप कर्मचारीसहित नापी समिति गठन गरिएको छ। सोही समितिमार्फत अहिले स्थानीय तहमा जग्गाको नापजाँच तथा नक्साङ्कन भइरहेको छ।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार पुस मसान्तभित्र सबै पालिकामा नापजाँचको काम सम्पन्न गर्ने गरी तयारी भइरहेको छ। समितिका अनुसार भजनी नगरपालिका र मोहन्याल गाउँपालिकामा नापजाँचको काम सम्पन्न भइसकेको छ। दुवै पालिकाको विवरण भूमि प्रशासन कार्यालयमा पठाइसकिएको छ। त्यस्तै, गोदावरी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट करिब पाँच सय जनाको विवरण जिल्ला समितिमा प्राप्त भएको छ। धनगढी उपमहानगरपालिकामा पनि अधिकांश स्थानमा नापीको काम सम्पन्न भइसकेको छ। उपमहानगरपालिकाको भूमि व्यवस्थापन शाखाका नरेन्द्र भट्टका अनुसार दुई–तीनवटा वडामा मात्रै नापजाँचको काम बाँकी छ।
घोडाघोडी नगरपालिकामा भने भर्खरै नापजाँच सुरु गरिएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखाका रमेश गिरीका अनुसार वडा नम्बर ७ बाट जग्गाको नापजाँच थालिएको हो। जिल्लाका अन्य पालिकामा पनि नापजाँचको काम जारी रहेको समितिले जनाएको छ।
नापजाँच सम्पन्न भएपछि सम्बन्धित टोलीले जग्गाको विवरण जिल्ला समितिमा पठाउनेछ। जिल्ला समितिले उक्त विवरण भूमि प्रशासन कार्यालयमा पठाउनेछ। भूमि प्रशासन कार्यालयले सम्बन्धित जग्गा नेपाल सरकारको नाममा दर्ता कायम गरेपछि मात्रै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढ्नेछ।
सरकारको नाममा जग्गा दर्ता भएपछि कित्ताकाटका लागि भूमि प्रशासन कार्यालयले जिल्ला समितिलाई पत्राचार गर्नेछ। त्यसपछि समितिले हकदाबीसम्बन्धी सूचना प्रकाशित गरी आवश्यक प्रक्रिया पूरा गरेर जग्गाधनी पुर्जा वितरण गर्ने बाटो खुल्नेछ।
समितिका सदस्य वीरेन्द्रबहादुर सिंहले काम सम्पन्न भएका पालिकाको विवरण प्राप्त हुनासाथ थप प्रक्रिया अघि बढाइने बताएका छन्। उनका अनुसार कामलाई छिटो र सहज बनाउन वडा तथा टोलगत रूपमा विवरण पठाएर पुर्जा वितरण गर्ने र अन्य स्थानमा नापजाँचको काम सँगसँगै अघि बढाउन पालिकाहरूलाई निर्देशन दिइएको छ।
कैलालीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी करिब एक लाख ४१ हजार जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्। उनीहरू लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा छन्।