सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरिकिसन राना हत्या प्रकरण: अनुसन्धान सुस्त हुँदा छोराद्वारा न्यायको माग

२०८२ चैत्र २७, ०८:३३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलडाँडी–३ का बासिन्दा हरिकिसन रानाको हत्या भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै उनका १८ वर्षीय छोरा भुवन रानाले न्यायको माग गरेका छन्।

अनुसन्धान प्रक्रिया ढिलो भएकोप्रति असन्तुष्टि जनाउँदै भुवनले शुक्रबार धनगढीस्थित बोलन्या थली पुगेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। पीडित परिवारले घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

'बुवाको हत्याको न्याय कहिले पाइन्छ ?' भन्ने प्रश्न उठाउँदै भुवनले राज्य संयन्त्रप्रति आक्रोश व्यक्त गरेका छन्। उनले अनुसन्धानलाई शीघ्र निष्कर्षमा पुर्‍याई पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरे।

घटनाको विवरण
गत वैशाख ९ गते बिहान हरिकिसन राना मोटरसाइकलमा बेलौरीको कलकत्ता जाने भन्दै घरबाट निस्किएका थिए। तर केही घण्टामै उनी बेलौरी नगरपालिका–१० शिवनगरस्थित मसानघाट नजिक जलेको अवस्थामा मृत फेला परे। उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो।

प्रारम्भिक रूपमा दुर्घटना जस्तो देखिए पनि घटनाको प्रकृति शंकास्पद रहेको भन्दै परिवारले हत्या भएको दाबी गर्दै आएको छ। शरीर जलेको अवस्था र मोटरसाइकलको स्थितिले घटना रहस्यमय देखिएको उनीहरूको भनाइ छ।

घटनापछि प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा तालिमप्राप्त कुकुरसहितको टोली खटिए पनि हालसम्म घटनाको यथार्थ कारण खुल्न सकेको छैन।

यस निर्मम घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने दोषी पहिचान र कारबाहीको माग गर्दै प्रहरीमाथि दबाब बढ्दै गएको छ।

कमेन्ट लोड गर्नुस