सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको विभिन्न पालिकामा स्थायी बसोबास र रोजगारी पाउने आसमा मुक्त कमैया

तस्बिरः चाँदनी आचार्य
तस्बिरः चाँदनी आचार्य
२०८२ चैत्र २९, ०९:१९ खबर संवाददाता

कैलालीः कैलालीको विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन।

मुक्त भएको २५ वर्ष पुग्न लाग्दा उनीहरूले मुक्त कमैयाको परिचयपत्र त पाएका छन् तर आफ्नो नाममा जग्गाधनी पुर्जा भने पाएका छैनन्। कैलालीको घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचयपत्र पाए पनि अहिलेसम्म आफ्नो भाइले जग्गा नपाएको बताए। आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको उनले जानकारी दिए। 

उनले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको गुनासो गरे। उनले भने, “पहिला भाइले रातो परिचयपत्र पाउन छुट्यो। अहिले परिचयपत्र, छ बसोबासको व्यवस्था छैन।” घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर छ। परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएका छन्।

शिविरका जुगराम चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गरे। नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उनले बताए। मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको छ। रामलाल र जुगरामका छोराबुहारी काम गर्न भारत गएका छन्। रामलालले १३ जना रहेको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको बताए।

“यतै रोजगारी पाएको भए भारत जाने थिएनन्। नेपालमै उद्योग, कलकारखाना खुले त हामीले काम पाउने थियौँ, उनले भने। सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गर्छन्। आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताए। उनले भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको दुःखेसो गरे।

आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया छन्। घोडाघोडी नगरपालिकाका–१२ वटा वडामा मुक्त कमैया शिविर रहेका छन्। कैलालीमा सबैभन्दा बढी मुक्त कमैया शिविर रहेको घोडाघोडी नगरपालिकालाई मानिन्छ। मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जासहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।   

कमेन्ट लोड गर्नुस