सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले दियो ५३३ स्थानमा वारुणयन्त्रको सेवा, पानी भर्न ठाउँठाउँमा व्यवस्था 

२०८३ कार्तिक ३०, १०:०२ लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले साढे तीन वर्षको अवधिमा ५ सय ३३ स्थानमा वारुणयन्त्रमार्फत आगलागी नियन्त्रणको सेवा प्रदान गरेको छ। आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उपमहानगरपालिकाले तीनवटा वारुणयन्त्र र नगरप्रहरी परिचालन गर्दै आएको छ। 

२०७९ सालदेखि चालु वर्षको कात्तिक मसान्तसम्म उपमहानगरपालिकाले उक्त संख्यामा आगलागी नियन्त्रणका लागि सेवा दिएको हो। धनगढीमा मात्रै नभई आवश्यकताअनुसार अन्य पालिका तथा क्षेत्रमा समेत वारुणयन्त्र पठाएर सहयोग गर्ने गरिएको उपमहानगरपालिकाले जनाएको छ। 

विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीका अनुसार आगलागीको सूचना प्राप्त भएपछि तत्काल वारुणयन्त्र परिचालन गर्ने गरिएको छ। नगरवासीले आगलागीबारे जानकारी गराएमा तीन मिनेटभित्रै प्रतिक्रिया जनाएर आवश्यक जनशक्ति र वारुणयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए। 

तराईका क्षेत्रमा आगलागीको जोखिम बढी हुने पालिकामध्ये धनगढी पनि एक हो। सहरी क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार हुनु, विद्युत्का तार सर्ट हुनुलगायतका कारण आगलागीका घटना हुने गरेका छन्। यस्ता जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले वारुणयन्त्रको सेवालाई थप प्रभावकारी बनाएको जनाएको छ। 

यसअघि वारुणयन्त्रमा भएको पानी सकिएपछि पुनः कार्यालयमै पुगेर पानी भर्नुपर्ने बाध्यता थियो। अहिले भने नगरका विभिन्न स्थानमा पानी भर्ने व्यवस्था मिलाइएको छ। यसले आगलागी भएको ठाउँमा छिटो पुग्न र आगो नियन्त्रणमा निरन्तर खटिन सहज भएको भण्डारीले बताए। 

आगलागीका घटना भएमा तत्काल सूचना दिन उपमहानगरपालिकाले विभिन्न चोक, पिपल चौतारालगायत सार्वजनिक स्थानमा नगरप्रहरी र वारुणयन्त्रका सम्पर्क नम्बर राखेको छ। ती नम्बरमा सम्पर्क गरेर नगरवासीले आवश्यक सेवा लिन सक्नेछन्। 

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रबाहिर हुने आगलागी नियन्त्रणमा समेत सहयोग गर्दै आएको छ। आफ्ना नगरवासीसँगै अन्य क्षेत्रका नागरिकको जनधन जोगाउने उद्देश्यले आवश्यकताअनुसार वारुणयन्त्र परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस