सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोर्चुगलमा बिस्केट जात्रा मनाइँदै

२०८२ चैत्र २९, ०७:०४ रासस

पोर्चुगलः युरोपेली मुलुक पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्केट (बिस्का) जात्रा मनाउने भएका छन्।

नेवाः समाज पोर्चुगलको आयोजनामा यही १५ अप्रिल तारिख (आगामी वैशाख २ गते) का दिन राजधानी लिस्बनमा यहाँ रहेका नेवार समुदायले भव्यताका साथ बिस्केट जात्रा मनाउने भएका हुन्। 

नेवारी रीतिरिवाज, भाषा, कला र धर्मसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ बिस्केट जात्रा मनाउन लागिएको समाजका अध्यक्ष अमृतरत्न शाक्यले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेवारी धर्म–संस्कृति र परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ। 

साथै समयबजी, टीकाटाला, ध्वजा र सगुनसहित एकापसमा शुभकामना आदानप्रदानको कार्यक्रम तय गरिएको छ । नेवारी कला र संस्कृतिको माध्यमबाट पोर्चुगलमा रहेका नेवार समुदायबीच आपसी सहकार्य, मेलमिलाप र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको उनले बताए।

सो अवसरमा लाखे नाच, धिमे बाजा, बाँसुरी धुनलगायतका नेवारी कला र संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत गरिने जनाइएको छ । लिस्बनको आरोइसस्थित ग्रिल एन्ड चिल रेस्टुरेन्टको हलमा हुने उक्त कार्यक्रममा सहभागी हुन समाजले पोर्चुगलवासी नेवार समुदायलाई विशेष आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस