मौलिकता र परम्पराको प्रतीक ‘बिसु पर्व’: सुदूरपश्चिमको सांस्कृतिक पहिचान
धनगढीः सर्वप्रथम त नयाँ वर्ष २०८३ काे उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । बिसु तिहार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू विशेषगरी दार्चुला, बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा वैशाख -१ गते मनाइने नयाँ वर्षको विशेष पर्व हो । यो देवर-भाउजु, नन्द-भाउजु तथा साली-भिनाजुहरू बीच सिस्नु पानी छ्यापेर रमाइलो गर्ने मौलिक चाड मानिन्छ ।
धार्मिक महत्त्व :
बिसु पर्वमा बिहान नुहाइ धुवाइ गरी इष्टदेवता तथा कूलदेवताको पूजा गरिन्छ, जसले वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दछ । हिन्दु सम्राट विक्रमादित्यको जन्मोत्सव र पराक्रमको खुसीयाली तथा सूर्यको पृथ्वी परिक्रमा पूरा भएको किंवदन्तीसँग जोडिएको विश्वास
छ । यसले रोगव्याधि तथा महामारीबाट रक्षा गर्ने जनविश्वास पनि बोकेको छ ।यो पर्वमा सिस्नु लगाउने चलनले वैशाख महिनाको अनिकालबाट बच्ने धार्मिक प्रतिक बोकेको छ, जसलाई पौराणिक कालदेखि नै मनाइने गरिन्छ ।
सामाजिक महत्त्व :
बिसु तिहारले पारिवारिक सन्तुलन, सहकार्य र सामाजिक सद्भाव बढाउँछ, विशेष गरी युवायुवतीबीच खुला संवादको अवसर दिन्छ । देवर नहुने भाउजुले पनि आफैं सिस्नु लगाउने परम्पराले पारिवारिक बन्धनलाई मजबुत बनाउँछ । यो सुदूरपश्चिमको सांस्कृतिक पहिचानको प्रतीक हो, जसले पर्यटन र नेपालीपनको परिचय गराउँछ ।
हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयाली स्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउन थालिएकाे हाे । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । बिसु पर्व भनेकाे पुरानाे वर्षकाे विदाई र नयाँ वर्षलाई स्वागत तथा शुभकामना आदानप्रदान गर्दै रमाइलाे गरिने चाड पनि हाे ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि रहेकाे छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । बिसु पर्व विषेशगरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लाहरू दार्चुला, बैतडी,अछाम, डोटी, डडेल्धुरा, बझाङ र बाजुरा पर्दछन् ।
देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ ।
मिठा परिकारहरूमा बिहानकाे नास्ता स्वरुप खीर, घिउ, तरकारीलाई विशेष महत्त्व दिने गरिन्छ । दिउँसाे र बेलुकाकाे खानाकाे परिकारहरूमा नन-भेजहरूकाेलागि माछामासु र अण्डा त सामान्य नै भैहाल्याे । यसका अलावा सेल, पुरी, लाउन, बाबर, बटुक, डुब्का, दालभात, तरकारी राइताे, पनीर आदि मुख्य खानाका परिकार हुन् । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास
गरिन्छ । विशेष गरी देवर–भाउजूबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने
गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले डेउडा खेल खेल्ने र पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन् (अछाम, बाजुरा) । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गहतका डुब्का' (स्थानीय खानाको परिकार), बटुक, खीर पकाएर खाने चलन छ हाम्राे दार्चुलामा ।
बिसु पर्वभन्दा अगाडि हाम्राे पहाडतिर राताे माटाे र कमेराेले घर लिपपोत (छिप्ने) गरिन्छ । अहिले त पहाडमा पनि धेरैजसाे घरहरू सिमेन्टकाे गाराेद्वरा निर्मित र सिमेन्ट प्लाष्टर गरिएका छन् । जसलेगर्दा कमेराे र माटाेले घर छिप्ने परम्परा पनि ओझेलमा पर्दै गएकाे देखिन्छ ।
सिस्नाे लगाउने चलन त अब उहिले उहिलेकाे कुरा जस्तै भैसकेको छ । सिस्नाेकाे बिषले छाला सम्बन्धी राेगहरू नलाग्ने विश्वास रहेकाे छ । उसै पनि सिस्नाे बहुउपयाेगी वनस्पति हाे । सिस्नाेकाे साग र अन्य परिकारहरू मधुमेहका राेगीहरूकाेलागि अति नै उपयाेगी मानिन्छ । यसकाे उपयोगीतालाई निम्नानुसार उल्लेख गरिएकाे छ :-
सिस्नाेकाे उपयाेगिता :
यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने (जलन) र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । आफू पनि विज्ञान विषयकाे विद्यार्थी भएकाेले र वनस्पति विज्ञानकाे एक अंश भएकाेले सिस्नाेकाे बहुउपयाेगी गुण चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
यसकाे वैज्ञानिक नाम Urtica dioica हाे । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, लौहत्त्व , पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ । यसमा २५% सम्म् प्रोटिन हुन्छ, त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन मानिन्छ ।
यो अति मुल्यवान 'गउडा चीज' र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ । नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्याको बृद्धि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाइदैन | सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ ।सिस्नोको धुलोलाई दाल र सुप बनाएर समेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ । सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ ।
पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभदायक हुन्छ । बाथरोगकाे लागि सिस्नाेकाे सेवन लाभदायक मानिएकाे छ । रगत उत्पादन गराउन सहायकसिद्ध हुने प्रमाणित भएकाे छ । शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन समेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड-जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ ।
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय (कैलाली बहुमुखी क्याम्पस धनगढी)
जन्मभूमि : मालिकार्जुन गाउँपालिका हुनैनाथ - ४ गाेठ्युडी (काेटबुङ्गा) दार्चुला