सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा बिसुपर्व मनाइँदै
दार्चुलाः हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’ पर्व धुमधामसाथ मनाइने गरिन्छ । मानिसको शरीरमा वर्षभरि रहेको रोग, विभिन्न खानेकुराबाट जम्मा भएका विषालु तत्व नष्ट गर्ने पर्वका रूपमा दार्चुला, बैतडी, डडेलधुरा, बझाङलगायतका पहाडी जिल्लामा बिसुपर्व मनाउने गरिन्छ ।
जिल्ला समन्वय समिति दार्चुलाका पूर्वप्रमुख एवं स्थानीय कला संस्कृतिका जानकार करवीरबहादुर कार्कीका अनुसार वर्षभरि मानव शरीरमा रहेको रोगव्याधि हटेर जाओस् भन्ने उद्देश्यले बिसुपर्वमा बिहानै सरसफाइ गरेर मिठा मिठा पकवान खाने तथा विष मार्न नाइटोमा सिस्ने लगाउने प्रचलन रहेको छ ।
पर्वकै अवसरमा जिल्लाको दुहुँ गर्खातिर देवर–भाउजू, साली–भिनाजुले आपसमा रमाइलोका साथ सिस्नेपानी खेल्ने र डेउडा खेल खेल्ने गरेको उनको भनाइ छ ।
नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले भने “यहाँका ग्रामीण बस्ती अहिले बिसुपर्वमय भएको छ । यो पर्व मनाउन गाउँबाट विभिन्न काम तथा रोजगारीका सिलसिलामा भारतमा रहेका स्थानीय गाउँ फर्किरहेका छन् ।” उनका अनुसार दार्चुलाको मार्मा क्षेत्रमा पर्ने नौगाड गाउँपालिकाको सिप्टीमा दुई दिनसम्म बिसुजात्रा लाग्ने गर्छ ।यो जात्रामा दुर्गामाताको पूजाआजा गरिन्छ । पर्व मनाउनका लागि ग्रामीण बस्तीका घर रातोमाटो र कमेरोले लिपपोत गरिएको छ ।
यो पर्वको अर्को रमाइलो पक्षका रूपमा विवाहित छोरीचेली माइतीघर आउने तथा ठुलाबडाको हातबाट टीका लगाएर नयाँ वर्षको सुरुवात गर्ने चलन रहेको बैतडीको पुर्चौडी नगरपालिका ३ का स्थानीय सुरज धामीले बताउनुभयो । सोही अवसरमा यहाँको मार्मा गाउँपालिकाको ताकु, घोल्जर, जुडेलगायत नौगाड गाउँपालिकाको सिप्टीमा ठुलो जात्रा लाग्ने गर्छ ।
सिस्नु लगाएर बटुक खाने
बैतडी समाचारदाताका अनुसार सुदूरपश्चिममा विष पखाल्ने बिसुपर्वको रौनक सुरु भएको छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा बिसुपर्व मनाइने गरेको किंवदन्ती छ । यस पर्वका दिन शरीरको विष पखाल्न तितेपातीले नुहाउने, सिस्नो लगाउने र बटुक खाने चलन छ ।
बिसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको छ । यो पर्वमा सेल, पुरी, बटुक, माँणा जस्ता मौलिक परिकार खाएर सिस्नु लगाउने चलन पनि रहेको छ । सिस्नु लगाउँदा शरीरलाई फाइदा हुने परम्परागत मान्यता वैज्ञानिक कारणले समेत फाइदाजनक मानिन्छ ।
सिस्नुको पातमा हुने मसिना झुसमा फर्मिक एसिड र हिस्टामाइन जस्ता रसायनले रक्तसञ्चारमा सुधार, बाथ र जोर्नी दुखाइमा राहत पुग्ने भएकाले परम्परागत उपचार पद्धति पनि मानिन्छ । सिस्नुले बाथ, जोर्नी, छाला चिलाउने जस्ता रोग निको हुने जनविश्वास रहेको संस्कृतिका जानकार आचार्य ज्योतिष पण्डित गणेशप्रदान पन्तले बताए। उनले हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको बताए। बिसुपर्वको सबैभन्दा रोचक पक्ष भनेको आपसमा सिस्नु लगाउनु हो ।