लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो
धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले बन्द गरेको महेन्द्र राजमार्ग खुलेको छ।
मङ्गलवार लम्कीचुहा नगरपालिका–७ गुलरास्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सडक खण्डमा सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तहरूले क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवतजावत पूर्ण रूपमा ठप्प भएकोमा प्रहरीले भर्खरै अवरुद्ध राजमार्ग खुलाएको हो। जसले गर्दा सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भर्खरै राजमार्ग सुरचारु भएको बताए।
दुर्घटनामा संलग्न हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।