गोदावरी आर्यघाटमा अत्तरिया जेसिजद्वारा सरसफाइ
धनगढीः अत्तरिया जेसिजले गोदावरी आर्यघाटमा सरसफाइ अभियान सञ्चालन गरेको छ। बिहीवार सरसफाइ अभियान सञ्चालन गरिएको हो।
वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनसँगै युवामा नेतृत्व क्षमता विकास र व्यक्तित्व निखार्ने लक्ष्यका साथ आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको हो। अभियानमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजकका अनुसार सरसफाइ अभियानमार्फत आर्यघाट क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै 'स्वच्छ वातावरण, स्वस्थ जीवन' भन्ने सन्देश प्रवाह गरिएको छ।
अत्तरिया जेसिजका स्वास्थ्य संयोजक ज्ञानेन्द्र खड्काले जेसिजले युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
उनले भने, 'जेसिज युवाहरूलाई केवल कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिने सशक्त माध्यम हो। यस्ता गतिविधिहरूले युवालाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउँछ।'
उनका अनुसार आगामी दिनमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।