कैलालीको वसन्ता कोरडिोरमा देखियो दुर्लभ राजगोमन
धनगढीः कैलालीको बड्का बनुवाँ (वसन्ता कोरडिोर) मा दुर्लभ राजगोमन (किङ कोब्रा) देखा परेको छ।
कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सिमाना क्षेत्रमा एक जोडी राजगोमन सर्प देखिएको हो। विपतपुर र हिम्मतपुर गाउँको बिच क्षेत्रमा पर्ने जङ्गलमा हुलाकी राजमार्गको किनारमा सोमबार दुई राजगोमन देखिएको प्रत्यक्षदर्शी रमित ओलीले जानकारी दिए। अत्यन्त विषालु राजगोमन सर्प कैलालीमा कम पाइन्छन्।
सर्प संरक्षण एवं उद्धारकर्ता लक्ष्मण उपाध्यायले अहिले सर्पको प्रजनन् सिजन रहेकाले दुई वटा राजगोमन सर्पसँगै देखा परेको बताए। सर्प उद्धारकर्ताहरूका अनुसार राजगोमन सर्पले लखेटेर मान्छेलाई टोक्ने कार्य गर्दैन। तर समातेमा भने टोक्ने गर्दछ। खास गरेर सर्प उद्धारकर्तालाई नै यो सर्पले टोक्ने जोखिम रहने गरेको जनाइएको छ। यो प्रजातिको सर्पले टोकेर विष फालेमा उपचारबाट पनि बचाउन मुस्किल हुने गरेको बताइन्छ। विषालु अन्य सर्पलाई खाएर मान्छेलाई विषालु सर्पबाट जोगाउने राजगोमनले जङ्गलमा झारपातको गुँड बनाएर अन्डा दिने गर्छ।