विश्वकप डिभिजन लिग–२ मा आज नेपाल र ओमान भिड्दै
काठमाडौँ: आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुदैछ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको छ। त्यस्तै लिग– २ मा हालसम्म नेपालको २१ खेलमा १४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।
नेपाल र ओमान एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ पटक आमने सामने भएका छन्। जसमा ओमानले ५ पटक र नेपालले ३ पटक जितेको छ। यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन्।
मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २–२ खेल खेल्ने तालिका रहेको छ । जस अनुसार अब मे १ मा नेपाल र युएई, मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ।