सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

२०८३ वैशाख १६, ०२:३४ रासस

काठमाडौँ: आईसीसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो। ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने। उनले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे। उनले टोलीलाई मजबुत अवस्थामा पुर्‍याउँदै ठूलो स्कोरको आधार तयार पारे।

उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन बिष्ट ले ३५ रन जोडे। त्यस्तै हमाद मिर्जाले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए। अन्तिम ओभरहरूमा विनायक शुक्ला २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे।

नेपालका बलरहरूले सुरुवातमा दबाब बनाउन खोजे पनि बीचका ओभरहरूमा ओमानका ब्याट्सम्यान हाबी भए। बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २/२  विकेट हात पारे। ३०६ रनको लक्ष्य पछाएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

नेपाल, युएई र ओमानबीचको एकदिवसिय  श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो।
 

कमेन्ट लोड गर्नुस