सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेभित्रै शक्ति संघर्ष, नेता फेर्नेदेखि नयाँ गठबन्धन निर्माणको कसरत सुरू

२०८३ वैशाख २३, १२:४९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले बुधबार निर्णायक मोड लिने भएको छ। संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउने विषयमा केन्द्रीत विवाद अब नयाँ सत्ता साझेदारीतर्फ उन्मुख भएको छ।

संसदीय दलको नेतृत्व परिवर्तन गर्ने र सत्ता गठबन्धन बारे निर्णय लिन एमाले प्रदेश सभा सदस्यको टोली भक्तपुरस्थित गुण्डुको अध्यक्ष   केपी शर्मा ओली निवासमा छलफलमा जुटेको छ। अध्यक्ष ओलीले प्रदेशका ११ सांसदसँग महत्वपूर्ण छलफल गरिरहेका छन्।

रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि नेतृत्व परिवर्तनको प्रयास भए पनि सफल हुन सकेको थिएन। तर आजको बैठकले भने दल नेता परिवर्तन टुंग्याउने सम्भावना बलियो छ।

छलफलमा सहभागी एक नेताका अनुसार संसदीय दलको नेताका विषयमा आजै टुङ्गो लाग्नुका साथै नेपाली काँग्रेससँगको सत्ता साझेदारी कायम राख्ने या नयाँ गठबन्धन निर्माण गर्ने विषयमा पनि ठोस छलफल हुने भएको छ।

ती नेताका अनुसार नेकपा र एमालेका बीच हुने नयाँ सत्ता गठबन्धनको थालनीसमेत सुदूरपश्चिमबाटै हुने भएको छ। उनले केन्द्रमा शिर्ष तहमा एमाले र नेकपाबिच भएको छलफल र समझदारी सुदूरपश्चिमबाट लागु हुने भएको छ।

बुधवारकै छलफलबाट काँग्रेससँगै समीकरण कायम राख्ने या नेकपासँग नयाँ समीकरण निर्माण गर्ने भन्ने कुराको अध्यक्ष ओलीले नेताहरूलाई जनाकारी दिने छन्।

यस्तै, काँग्रेससँगको सत्ता समीकरण कायम रहेको अवस्थामा एमालेबाट सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल हुने ती नेताले बताए। यसैगरी, बजेट निर्माणका विषयमा पनि ओलीले आवश्यम निर्देशन दिने भएका छन्।

काँग्रेस नेतृत्वको प्रदेश सरकारसँग असन्तुष्ट रहेका एमाले सांसदहरूले छलफल केवल दल नेता फेर्ने विषयमा सीमित नरही प्रदेश सरकारको समीकरण परिवर्तनसम्म पुगेको दाबी गरेका छन्। हाल नेपाली काँग्रेस नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धन बनाउने पक्षमा अधिकांश नेता लागेका छन्।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग सहकार्यको सम्भावनाबारे समेत शीर्ष तहमा संवाद चलिरहेको छ, जसको सुरुवात सुदूरपश्चिमबाटै गर्ने प्रस्ताव अघि सारिन सक्ने नेकपाका एक प्रभावशाली नेताले दिनेशखबरसँग बताए। उनले केन्द्रमा नेकपा एमाले र नेकपाबिचको छलफल सकारात्मक दिशामा अगाडि बढेकाले नयाँ सत्ता गठबन्धन निर्माणको थालनी सुदूरपश्चिमबाट हुन सक्ने सम्भावना बलियो रहेको बताए।

हाल कमलबहादुर शाह नेतृत्वको सरकार काँग्रेस–एमाले गठबन्धनको समर्थनमा कायम छ। ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य मात्र सक्रिय छन्। नेकपा र एमालेबिच सत्ता साझेदारी भएका उनीहरूसँग बहुमत छ।
 
रावलको विकल्प को?

राजेन्द्रसिंह रावल हटेमा नयाँ संसदीय दल नेता चयन झन चुनौतीपूर्ण रहेको एमालेका एक नेताको भनाइ छ। रावलको ठाउँमा उपनेता सन्तोष शर्माले आफूलाई स्वाभाविक दाबेदारको रुपमा प्रस्तुत गरेकी छन्। केन्द्रीय नेतृत्वको प्राथमिकतामा पनि शर्मा नै पर्ने कतिपयको अनुमान छ। तर, उनको पक्ष–विपक्षमा पनि तीव्र लविङ भइरहेको बुझिएको छ।

संसदीय दलको अन्य आकांक्षीमा दलका प्रमुख सचेतक चक्रबहादुर मल्ल, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालसमेत रहेको बुझिएको छ। संसदीय दलको नेताका लागि एमालेको प्रदेश तहमा रहेका दुई गुटबिच शक्तिसंघर्ष चलेको नेताहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस