सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालाद्वारा पत्रकार महासंघ सुदूरपश्चिमलाई एसी सहयोग

२०८३ वैशाख २३, ०२:२९ खबर संवाददाता

धनगढीः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चैतन्य पाठशाला धनगढीले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई एक थान एयर कन्डिसन (एसी) सहयोग गरेको छ।

पाठशालाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महासंघको सुदूरपश्चिम प्रदेश समितिलाई एसी हस्तान्तरण गरिएको जनाएको छ। पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशप्रसाद जोशीले महासंघको प्रिफ्याब संरचनाबाट बनेको भवनमा अत्यधिक गर्मीका कारण कामकाजमा असहजता देखिएकाले एसी सहयोग गरिएको जानकारी दिए।

विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले मंगलबार आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहलाई एसी हस्तान्तरण गरेका हुन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको कार्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको प्रिफ्याब भवनमा सञ्चालन हुँदै आएको छ। बढ्दो गर्मीका कारण कामकाजमा समस्या भइरहेको बेला चैतन्य पाठशालाबाट प्राप्त सहयोगप्रति महासंघले धन्यवाद व्यक्त गरेको छ। अध्यक्ष शाहले उक्त सहयोगले महासंघको संस्थागत कामकाज थप सहज हुने बताए।

कमेन्ट लोड गर्नुस