सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध डेन्टल क्लिनिक अनुगमन: चिकित्सकविना सञ्चालन भएका क्लिनिक बन्द

२०८३ वैशाख २४, ०२:२९ खबर संवाददाता

धनगढी: नेपाल मेडिकल काउन्सिलको टोलीले कञ्चनपुर जिल्लाका विभिन्न डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गर्दा अधिकांश क्लिनिक स्वास्थ्य मापदण्ड विपरीत र चिकित्सकविना सञ्चालन भइरहेको पाइएको छ।

डा. अजय कुमार शाहको नेतृत्वमा आएको टोलीले मंगलबार गुलरिया, झलारी र महेन्द्रनगरका क्लिनिकहरू बिहान १० बजेदेखि साँझ ४ बजेसम्म निरीक्षण गरेको थियो। अनुगमनमा गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा गम्भीर लापरबाही फेला परेको छ। उक्त क्लिनिक स्वास्थ्य कार्यालयमा दर्ता नभएको र बिना योग्यताका व्यक्तिले बिरामीको उपचार गर्दै आएको पाइएपछि प्रहरीको रोहबरमा क्लिनिक बन्द गरिएको छ।

झलारीको यूएस डेन्टल क्लिनिक, न्यु शाही पन्चकोशी डेन्टल क्लिनिक र महेन्द्रनगरको शाही पन्चकोशी डेन्टल क्लिनिकमा पनि चिकित्सकको अनुपस्थितिमा गैरकानुनी रूपमा उपचार भइरहेको प्रतिवेदनमा उल्लेख छ। महेन्द्रनगरस्थित यूएन डेन्टल क्लिनिकमा कागजातमा चिकित्सकको नाम भए पनि विगत दुई वर्षदेखि चिकित्सक कार्यरत नभएको पाइएको छ। न्यु विष्ट डेन्टल क्लिनिकमा पनि सरसफाइ र निर्मलीकरणको अवस्था अत्यन्त कमजोर रहेको देखियो।

अनुगमनपछि केही क्लिनिक सञ्चालकले क्लिनिक नै बन्द गरी सम्पर्कविहीन भएका थिए। महाकाली डेन्टल हस्पिटल, गुलरियाको शाही डेन्टल क्लिनिक र झलारीको राजदेवी डेन्टल क्लिनिक पनि निरीक्षण समयमा बन्द पाइएका थिए।

यद्यपि, केही क्लिनिकले कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ। महेन्द्रनगरका हिमाल डेन्टल क्लिनिक, बिमल डेन्टल क्लिनिक र हुनैनाथ डेन्टल क्लिनिकमा चिकित्सकहरूले उपचार गरिरहेका छन् र दर्ता प्रक्रिया पुरा भएको देखिएको छ। तर, राजदेवी डेन्टल क्लिनिकलाई सरसफाइ र सामग्री व्यवस्थापन सुधार गर्न सुझाव दिइएको छ।

अनुगमन टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजय कुमार शाह, डा. विकास खड्का र डा. अमृत राज जैशी सहभागी थिए। टोलीले अवैध क्लिनिकहरूलाई कानुनी दायरामा ल्याउन र प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस