कैलाली र कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद
कैलाली: कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
कैलाली जिल्लाको भजनी नगरपालिका–३ काडा, कैलारी गाउँपालिका–३ हसुलिया तथा वडा नं. ४ स्थित हनुमान मन्दिर नजिकबाट अन्दाजी मूल्य रु. १ लाख ३ हजार ४ सय ५० बराबरका पेय पदार्थ, सुर्ती, धनियाँ लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।
त्यसैगरी, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ सिँचाइ नजिक, वडा नं. ६ ऐठपुर तथा वडा नं. १७ नहर क्षेत्रबाट अन्दाजी मूल्य रु. ६८ हजार ६ सय १० बराबरका फलफूल, फेन्सी तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।