नवजीवन सहकारीका स्वतन्त्र उम्मेदवार जयराज जोशीले गरे वाचापत्र सार्वजनिक
धनगढी: नवजीवन सहकारी संस्थाको आगामी साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा संस्थाभित्र चुनावी सरगर्मी बढेको छ। नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुन थालेसँगै सहकारीमा निर्वाचन माहोल तातेको हो।
यसैक्रममा सहकारीको सदस्य पदका स्वतन्त्र उम्मेदवार जयराज जोशीले आज आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा उनले सहकारीको पारदर्शिता अभिवृद्धि, सदस्यहरूको बचत सुरक्षालाई प्राथमिकता, ऋण प्रवाहलाई व्यवस्थित बनाउने तथा संस्थाको आर्थिक अवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जोशीले सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउने, युवाको सहभागिता बढाउने र सदस्यमैत्री सेवा विस्तार गर्ने योजना पनि अघि सारेका छन्। उनले संस्थागत सुधार, सुशासन र सहकारीको दिगो विकासलाई आफ्नो प्रमुख कार्यसूचीको रूपमा उल्लेख गरेका छन्।
सदस्यहरूको विश्वासलाई कायम राख्दै सहकारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाउँदै जोशीले उत्तरदायी नेतृत्व आवश्यक रहेको बताए।
धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था बैंकिङ सेवा प्रदान गर्दै आएको सहकारी हो। यो सहकारी बैंकिङ सेवा प्रवाहको इजाजत प्राप्त पहिलो सहकारीका रूपमा चिनिन्छ।
सहकारीको नेतृत्वका लागि तीनवटा छुट्टाछुट्टै प्यानल बने पनि जोशीले स्वतन्त्र रूपमा सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उनी लामो समयदेखि धनगढीमा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
जोशी कैलाली जनपुस्तकालय तथा तारानगर सामुदायिक वनका सदस्य हुन् भने ‘सदाचारका लागि सामाजिक पहल’का उपाध्यक्ष र ‘विकासमा सिर्जनशीलता नेपाल’का सल्लाहकारका रूपमा समेत क्रियाशील छन्। साथै, उनी नेपाल लेखापडी कानुन व्यवसायी एशोसिएसनको केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजकका रूपमा चार कार्यकाल काम गरिसकेका अनुभवी व्यक्ति हुन्।