सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीको वैशाख महिनाको प्रगति: लागुऔषध र अवैध मदिरा बरामद, ११ लाख राजस्व सङ्कलन

२०८३ जेठ २, १२:५६ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले चालू आर्थिक वर्षको वैशाख महिनामा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सवारी व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दिएकाे जानकारी अनुसार वैशाख महिनामा लागुऔषध ओसारपसार नियन्त्रण, अवैध घरेलु मदिरा जफत र सवारी नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरी लाखौँ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

पछिल्लो समय समाजमा मुख्य चुनौतीको रूपमा देखा परेको लागुऔषध दुर्व्यसनी र तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले वैशाख महिनामा ठूलो सफलता हात पारेको छ। यस अवधिमा प्रहरीले लागुऔषध सम्बन्धी कुल ५८ वटा मुद्दा दर्ता गरी अपराधमा संलग्न १०० जनालाई पक्राउ गर्न सफल भएको छ, जसमा २ जना महिला र ९८ जना पुरुष रहेका छन्। पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, २० ग्राम ३१० मिलिग्राम चरेश र ४४ ग्राम ९७० मिलिग्राम गाँजा बरामद गरी कानुनी कारबाही अगाडि बढाएको छ।

यसैगरी, सामुदायिक सुरक्षामा खलल पुर्‍याउने र घरेलु हिंसाको मुख्य कारण बन्ने गरेको अवैध मदिरा नियन्त्रण तर्फ पनि कैलाली प्रहरीले आफ्नो सक्रियता बढाएको छ। वैशाख महिनामा जिल्लाका विभिन्न स्थानबाट १ हजार ५ सय ६२ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने ६ हजार २ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सडक सुरक्षा र यातायात व्यवस्थापन तर्फ वैशाख महिनामा कैलाली जिल्लाभरि कुल ९५ वटा सवारी दुर्घटनाहरू भएका छन्। ती दुर्घटनाहरूमा १३० वटा सवारी साधनहरू संलग्न रहेका थिए। सवारी दुर्घटनाका कारण ५ जनाले ज्यान गुमाएका छन् भने १५५ जना घाइते भएका छन्। दुर्घटना लगतै खटिएको प्रहरी टोलीले १६० जनाको सकुशल उद्धार गरेको थियो। प्रहरीले गरेको दुर्घटनाको कारण विश्लेषण अनुसार अधिकांश दुर्घटनाहरू चालककै लापरवाहीका कारण भएका छन्। कुल दुर्घटनामध्ये ७५ वटा चालकको कारण, १५ वटा यात्रुको लापरवाही, ३ वटा सडकमा छाडा छोडिएका चौपायाका कारण र २ वटा सवारी साधनको यान्त्रिक गडबडीका कारण भएका हुन्।

यसै अवधिमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने चालकहरूमाथि पनि प्रहरीले कडा कारबाही गरेको छ। वैशाख महिनाभरि १ हजार ३ सय ७५ वटा सवारी साधनलाई कारबाही गरिएको र सो कारबाहीबाट कुल ११ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भई राज्य कोषमा जम्मा भएको छ। जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न, लागुऔषध र अवैध मदिराको जालो तोड्न तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नो अभियानलाई अझै सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस