कञ्चनपुर प्रहरीको वार्षिक प्रतिवेदन: महिला तथा बालबालिका उजुरी शतप्रतिशत फर्छ्यौट, ५०२ सवारी दुर्घटनामा ३८ को मृत्यु
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै महिला तथा बालबालिका सम्बन्धी उजुरी फर्छ्यौट, ट्राफिक व्यवस्थापन, हराएका व्यक्तिको खोजी तथा सामाजिक कुरीति नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ।
प्रहरीद्वारा सार्वजनिक प्रतिवेदनअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा वर्षभरि ३३३ वटा उजुरी दर्ता भएका थिए। ती सबै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ। यससँगै हाल केन्द्रमा कुनै पनि उजुरी बाँकी नरहेको उल्लेख गरिएको छ। भारतसँग जोडिएको सीमा नाकाबाट यस अवधिमा ८० जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।
हराएका व्यक्तिको खोजी कार्यमा पनि प्रहरीले सक्रियता देखाएको प्रतिवेदनमा उल्लेख छ। वर्षभरिमा हराएका १९६ महिलामध्ये १९२ जना फेला परेका छन् भने ४ जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै, हराएका ५७ जना बालक सबै फेला परेका छन्। ११८ जना बालिकामध्ये ११५ जना फेला परेको र ३ जना अझै फेला पर्न बाँकी रहेको जनाइएको छ। हराएका २२ जना ज्येष्ठ नागरिक सबै फेला पारिएको छ भने ११० जना पुरुषमध्ये १०६ जना फेला परेका र ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि जिल्लामा ५०२ वटा सवारी दुर्घटना भएको विवरण सार्वजनिक गरिएको छ। ती दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने ७७२ जना घाइते भएका छन्। दुर्घटनामा १३ वटा चौपायाको मृत्यु भएको र ४ वटा चौपाया घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार ५७१ वटा सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ। सो कारबाहीबाट ४६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४६४ जनामाथि कारबाही गरिएको छ भने यसबाट २ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको जनाइएको छ। लागुपदार्थ सेवन गरेर सवारी चलाउने २८ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
सडक सुरक्षाबारे जनचेतना फैलाउन वर्षभरि ३४६ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रमबाट २२ हजार ८ सय जना नागरिक लाभान्वित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसैबीच, सुदूरपश्चिम क्षेत्रमा विद्यमान छाउपडी प्रथा न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा रहेका १५० वटा छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ। बेदकोट नगरपालिका वडा नम्बर १० मा २३ वटा र कृष्णपुर नगरपालिका वडा नम्बर १ मा १२७ वटा छाउगोठ भत्काइएको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित समाज निर्माण, सडक सुरक्षा प्रवर्द्धन तथा सामाजिक कुरीति अन्त्यका लागि स्थानीय तह, नागरिक समाज र सञ्चारमाध्यमसँग सहकार्य गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ।