सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीको वार्षिक प्रतिवेदन: ५ करोडभन्दा बढीको अवैध सामान बरामद

२०८३ जेठ ६, ०३:५५ खबर संवाददाता

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै जुवातास नियन्त्रण, भन्सार छली रोकथाम, वन अपराध नियन्त्रण तथा नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध उल्लेखनीय सफलता हासिल भएको जनाएको छ। कार्यालयले प्रेसमिटमार्फत सार्वजनिक गरेको विवरणअनुसार वर्षभरि विभिन्न अवैध गतिविधिविरुद्ध व्यापक अभियान सञ्चालन गरिएको थियो।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको जुवातास नियन्त्रण अभियानअन्तर्गत २२ वटा मुद्दा दर्ता गरिएको छ। सो क्रममा १७२ जनालाई पक्राउ गरिएको तथा ९ लाख ४१ हजार ४ सय ७३ रुपैयाँ नगद बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय झलारी, बेलडाँडी तथा दोधाराबाट संयुक्त रूपमा सञ्चालन गरिएको कारबाहीमा सबैभन्दा बढी मुद्दा जिल्ला प्रहरी कार्यालय मातहतबाट दर्ता गरिएको प्रतिवेदनमा उल्लेख छ।

भन्सार छली गरी अवैध रूपमा सामान आयात–निर्यात गर्ने गतिविधिविरुद्ध पनि प्रहरीले कडाइ गरेको जनाएको छ। आर्थिक वर्षभरिमा ५ करोड ४० लाख ६७ हजार ७ सय ९७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीको तथ्यांक छ। यस क्रममा १४ जना व्यक्ति तथा ३१ वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

अवैध रूपमा ओसारपसार गरिएका पशुपन्छी, माछा तथा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रहरीले ९७७ गोटा कुखुरा तथा चल्ला बरामद गरी नष्ट गरेको जनाएको छ। त्यस्तै ४० वटा बाख्रा तथा खसी, २० वटा घोडा र १६ वटा भैँसी तथा राँगा बरामद गरिएको छ। अवैध रूपमा ल्याइएका ९१० किलो माछा नष्ट गरिएको तथा २ हजार ४ सय ५७ लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

वन अपराध नियन्त्रणतर्फ अवैध काठ चोरी निकासीमा संलग्न ४ जना व्यक्ति र ३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। सो क्रममा ४२७ क्युबिक फिट काठ बरामद गरी ५ लाख ८७ हजार ९ सय १२ रुपैयाँ जरिवाना असुल गरिएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले १७ वटा ट्र्याक्टर, १ वटा टिप्पर र १ वटा जेसिभीसहित कुल २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। उक्त अभियानमा संलग्न ३२ जनालाई पक्राउ गरिएको तथा कारबाहीबाट १५ लाख ५ हजार ९ सय २० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षभरिमा जिल्लाका २२ वटा मेला तथा पर्वहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराएको जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६८० वटा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र नागरिकहरूसँग सहकार्यलाई थप मजबुत बनाइएको उल्लेख गरिएको छ।

नागरिक सेवातर्फ पनि प्रहरीले सक्रियता देखाएको प्रतिवेदनमा जनाइएको छ। यस अवधिमा ५१२ वटा नागरिकता सिफारिस, ९०३ वटा चालचलन सम्बन्धी सिफारिस तथा ५७ वटा हराएका कागजातसम्बन्धी सिफारिस प्रदान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने तथा अवैध गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस