कञ्चनपुरमा पूर्व पतिको हत्या आरोपमा डिभोर्सी पत्नी पक्राउ, प्रहरीसमक्ष अपराध स्वीकार
धनगढीः कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा घरमै मृत फेला परेका ४५ वर्षीय लिलाराम सुनारको हत्या उनकी सम्वन्धविच्छेद गरेकी पूर्व पत्नी यशोदा सुनारले गरेको खुलेको छ।
सोमबार बिहान लिलारामको हत्या भएको भन्दै यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन्। तर प्रारम्भिक अनुसन्धानपछि हत्या उनैले गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरेर लिलाराम र यशोदाबीच भएको विवादका क्रममा यशोदाले चक्कु प्रहार गरी लिलारामको हत्या गरेकी हुन्। प्रहरी स्रोतका अनुसार विवादका बेला लिलारामले ‘मारिदिन्छु’ भन्दै चक्कु देखाएपछि यशोदाले सोही चक्कु खोसेर प्रहार गरेकी थिइन्।
प्रहरीसमक्षको बयानमा यशोदाले हत्या गरेको स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रहरीका अनुसार दुवैबीच यसअघि नै सम्बन्धविच्छेद भइसकेको थियो। तर पछिल्लो समय लिलारामको खुट्टा भाँचिएपछि हेरचाहका लागि यशोदा पुनः घरमा बस्दै आएकी थिइन्।
मदिरा सेवनका कारण उनीहरूबीच बेला–बेलामा विवाद हुने गरेको पनि तथ्य खुलेको छ। दम्पतीकी एक छोरी रहेकी छन्, जसको विवाह भइसकेको बताइएको छ।
‘हाम्रो डिभोर्स भइसकेको थियो। उहाँको खुट्टा भाँचिएको थाहा पाएपछि हेरचाह गर्न फर्केर आएकी थिएँ,’ यशोदाले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘घटनाको दिन “तलाई मार्छु” भन्दै ममाथि आक्रमण गर्न आएपछि रिसको आवेगमा चक्कु खोसेर प्रहार गरेँ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।