सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

२०८३ कार्तिक ६, ०१:३९ रासस

काठमाडौँ : काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ ।

एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । 
मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो ।


अहिले मन्दिरलाई सिँगारिएर चिटिक्क बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ ।
परिवारमा सुख, समृद्धि प्राप्त हुनाका साथै भय, रोग र विघ्नबाट मुक्त हुने विश्वासका साथ लाग्ने मेलामा यस वर्ष करिब दुई लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीक र बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ । 
 

कमेन्ट लोड गर्नुस