सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल-भारत सीमामा तस्करी बढ्दो, गौरीफन्टा बन्दै ठूलो प्रवेशद्वार

२०८३ जेठ ८, ०२:४६ नारायण अवस्थी

धनगढी: भारत–नेपाल सीमास्थित गौरीफन्टा नाकामा अवैध तस्करीका घटनाहरू निरन्तर बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सानो स्तरको तस्करीसँगै अहिले ठूलो परिमाणमा सामानको अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकायका लागि चुनौती बढ्दै गएको बताइएको छ।

समाचारअनुसार सोमबार साँझ गौरीफन्टा प्रहरीले चेकजाँच अभियानका क्रममा एक नेपाली महिलालाई ठूलो मात्रामा कपडा तस्करी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।

प्रहरीका अनुसार अवैध तस्करी, लागूऔषध कारोबार तथा अपराध नियन्त्रण अभियानअन्तर्गत गौरीफन्टा–पलिया सडकखण्डस्थित पुलमुनि जंगल क्षेत्रमा संदिग्ध गतिविधि देखिएपछि प्रहरी टोलीले जाँच गरेको थियो। सो क्रममा एक नेपाली महिलालाई रोकी सोधपुछ गर्दा सन्तोषजनक जवाफ दिन नसकेको बताइएको छ।

त्यसपछि झोलाहरू खानतलासी गर्दा पाँचवटा प्लास्टिकका बोरामा ठूलो परिमाणमा लेडिज सुट, साडी तथा फ्रक बरामद गरिएको थियो। बरामद सामानमा १५९ थान लेडिज सुट, ११ थान साडी र १२ थान फ्रक रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीको अनुमानित मूल्य करिब ९५ हजार भारतीय रुपैयाँ रहेको उल्लेख गरिएको छ। महिलासँग सामानसम्बन्धी कुनै वैध बिल वा कागजात नभेटिएपछि प्रहरीले ती सामग्री जफत गरी आवश्यक कारबाहीका लागि भन्सार विभाग गौरीफन्टालाई बुझाएको जनाएको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी-१ की विष्णा भट्ट रहेको प्रहरीले जनाएको छ।

यसैबीच शुक्रबार कस्टम विभागले दिल्लीबाट धनगढीतर्फ जाँदै गरेको नेपाली नम्बर प्लेटको एक पर्यटक बसमा लुकाइछिपाइ ल्याइँदै गरेको हार्डवेयर तथा मेशिनरी पार्ट्स समेत बरामद गरेको जनाएको छ। बरामद सामानको मूल्य एक लाख भारतीय रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

यस्तै, जेठ ५ गते मङ्गलवार गौरीफन्टा नाका क्षेत्रबाट भारतीय रुपैयाँ ५८ हजार मूल्यको सामानसहित दुई महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार धनगढी-२ कि भावना चौधरी र पुष्पा भट्ट तस्करीको सामानसहित पक्राउ परेका हुन्।

सीमाक्षेत्रमा तस्करीका घटना बढ्दै गएपछि गौरीफन्टा नाका तस्करीको प्रमुख प्रवेशद्वार बन्दै गएको स्थानीयवासीको भनाइ छ। सुरक्षा व्यवस्थामा कमजोरी हुँदा तस्करहरू सक्रिय बन्दै गएको उनीहरूको आरोप छ।

गौरीफन्टा आसपासबाट मात्रै नभई तस्करीका घटना कैलाली जिल्लाभर भइरहेको सर्वसाधारणको गुनासो छ। खुला सीमानाका कारण तस्करीमा संलग्न नेपाली तथा भारतीय नागरिकले नेपाल तथा भारतमा सामान तस्करी गर्दै आएका छन्।

बिहीबार मात्रै धनगढी-१९ खेदाघाटबाट भन्सार छली गरी ल्याइएको डिजेलसहित भारती नागरिक पक्राउ परेका छन्। भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्ता तस्करीको डिजेल र मोटरसाइकलसहित पक्राउ परेका हुन्।

सीमा क्षेत्रमा प्रहरीकै मिलोमतोमा दैनिक तस्करी हुने गरेको सीमा क्षेत्रका नागरिकले गुनासो गर्दै आएका छन्। धनगढी र पलिया तथा सीमावर्ती बजारका  व्यापारीहरूले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर तस्करी गर्दै आएको बताइन्छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस