सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक

२०८३ जेठ १०, ०४:२५ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले २०८३ जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरिएको जानकारी दिएको हो। आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रमा प्रदेश तथा जिल्ला सभापतिहरूलाई महाधिवेशन तयारीलाई तीव्र रूपमा अघि बढाउन निर्देशन दिइएको छ।

परिपत्रअनुसार निर्वाचन समिति गठनदेखि प्रतिनिधिको नामावली संकलन, अधिवेशन प्रतिवेदन पेश तथा इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफलसम्मका कार्यक्रम समावेश गरिएको छ। रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार ७७ वटै जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ।

त्यसपछि आधिकारिक परिपत्र तथा म्यानुअल पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने लगायतका काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ।

महाधिवेशन प्रतिनिधिको नामावली जिल्ला तथा प्रदेश समितिमार्फत पेश गरिनेछ भने प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पनि केन्द्रीय निर्वाचन आयोगमा बुझाइनेछ। कार्यतालिकामा इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफलसमेत समावेश गरिएको छ ।

रास्वपाले आगामी महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन मेसिनः प्रयोगको सम्भावनाबारे छलफल थालेको देखिएको छ। परिपत्रमा सबै प्रदेश सभापतिहरूलाई आफ्नो प्रदेशअन्तर्गतका जिल्ला समितिसँग आवश्यक समन्वय गरी निर्धारित समयमै कार्य सम्पन्न गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस