दशरथचन्द विश्वविद्यालयमा एमबीबीएस पढाइ कुनै पनि बहानामा रोकिनु हुँदैन : मुख्यमन्त्री भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसको पढाइ कुनै पनि बहानामा रोकिन नहुने बताएका छन्। संघीय सरकार र डा. गोविन्द केसीबीच भइरहेको सम्झौताका कारण विश्वविद्यालयको शैक्षिक कार्यक्रम प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनले एमबीबीएस अध्यापन सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन्।
स्वास्थ्य युवा महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका नागरिकको लामो संघर्ष, निरन्तर प्रयास र अपेक्षाको प्रतिफल भएको बताए। विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा शैक्षिक कार्यक्रम अवरुद्ध हुन नहुने उनको भनाइ थियो।
यसैबीच मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्नुपर्ने बताए। पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गएको, मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याका घटनासमेत बढिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य युवा महोत्सवजस्ता कार्यक्रमले यस्ता समस्या न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे।