सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोफान कलेजको क्याम्पस प्रमुखमा रामचन्द्र शाही नियुक्त

२०८३ जेठ ११, ०४:४३ खबर संवाददाता

धनगढीः धनगढी–४ चटकपुरस्थित सोफान कलेजको क्याम्पस प्रमुखमा रामचन्द्र शाही नियुक्त भएका छन्। क्याम्पस प्रशासनले आइतबार शाहीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो।

शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका शाही यसअघि तनहुँको बेलचौतारास्थित नेपाल पुलिस स्कुलका प्रिन्सिपलका रूपमा कार्यरत थिए।

सोफान कलेज काठमाण्डौं विश्वविद्यालयबाट बीआईटी र बीएसडब्ल्यू कार्यक्रमको सम्बन्धन प्राप्त गरी सुदूरपश्चिममा पहिलो कलेज बनेको छ। कलेजमा यी दुवै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै शाहीले शैक्षिक गुणस्तर सुधार, प्रभावकारी शिक्षण प्रणाली विकास, विद्यार्थीको सर्वाङ्गीण विकास तथा अनुशासित र सकारात्मक शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर इमानदारी र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, कलेजलाई गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न सरोकारवालाको सहकार्य अपेक्षा गरिएको उनले बताए।

कलेजका सञ्चालकका रूपमा यस क्षेत्रका युवा उद्यमी शैलेशकुमार सिंह रहेका छन्। सिंह विगत दुई दशकदेखि सुदूरपश्चिमको शिक्षा तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

कमेन्ट लोड गर्नुस