प्रहरीको पहराबीच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरेका छन्। लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला कडा सुरक्षा व्यवस्थाबीच अस्पताल उद्घाटन गरिएको हो।
प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच लामो समयदेखि चल्दै आएको विवादकै बीच मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन्। उद्घाटन समारोहका क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई कार्यक्रममा प्रवेश गर्न रोक लगाइएको थियो। नगर प्रहरीलाई नगरपालिका भन्दा बाहिर आउन दिइएको थिएन।
उद्घाटन समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य रामेश्वर चौधरी, नगर उपप्रमुख जुना चौधरीलगायतको उपस्थिति रहेको थियो।
के थियो लम्कीचुहा अस्पतालको विवाद ?
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच मतभेद २०८१ सालदेखि नै सुरु भएको हो। सुरूमा नगर अस्पताललाई प्रदेश अस्पताल बनाउन नगरपालिका सहमत भए पनि मुख्यमन्त्री शाह र नगर प्रमुख सुशीला शाही नेपाली काँग्रेसकै नेता भए पनि अहिले भने व्यक्तिगत र राजनीतिक सम्बन्ध बिग्रेको बताइन्छ।
नगरपालिकाले ४ पुस २०८१ मा प्रदेश सरकारलाई अस्पताल स्तरोन्नतिको मागसहित पत्र पठाएको थियो। १८ पुसमा अस्पताल विकास समितिले सामाजिक विकास मन्त्रालयलाई आवश्यक विवरण र कर्मचारी समायोजनसम्बन्धी सहमतिपत्र बुझाएको देखिन्छ। यस्तै,२१ फागुन २०८१ मा प्रदेश सरकारले संघीय सरकारसँग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्ने अनुमति मागेको छ भने
२६ जेठ २०८२ मा संघीय मन्त्रिपरिषद् बैठकले १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश मातहत सञ्चालन गर्ने निर्णय गर्यो।
संघीय निर्णयपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० पुस २०८२ मा नगरपालिकालाई सम्झौताका लागि पत्र पठायो। तर, नगरपालिकाले प्रतिनिधि नपठाएपछि मन्त्रालयले ७ माघ र फेरि १३ माघ मा पुनः सम्झौताका लागि आग्रह गर्यो।
नगरपालिकाले भने आर्थिक, कानुनी र प्रशासनिक विषयमा स्पष्ट छलफल नभएसम्म सम्झौता नगर्ने अडान लियो। पटक–पटकको प्रयासपछि पनि सहमति नजुटेपछि प्रदेश सरकारले १ चैत मा लम्कीचुहा प्रादेशिक अस्पताल भइसकेको घोषणा गर्दै अस्पताल विकास समिति नै गठन गरिदियो।
मेयरको विरोध र बढ्दो तनाव
समिति गठन भएको दिनदेखि नै मेयर सुशीला शाहीले प्रदेश सरकारको कदमप्रति खुलेर विरोध जनाउँदै आएकी छन्। उनले सम्झौता नै नगरी समिति गठन गर्नुले प्रदेश सरकारको बलमिच्याई उजागर गरेको टिप्पणी गर्दै आएकी छन्। अस्पतालकै विषयमा केही दिन अगाडि मात्रै मुख्यमन्त्री र मेयर पक्षमबीच लम्कीमा झडप नै भएको थियो। अहिले भने मुख्यमन्त्रीले मेयर विदेश भएको मौका छोपेर अस्पतालको उद्घाटन नै गरिदिएका छन्।